कर्मचारी र वकिलबीच अदालतभित्रै कुटाकुट
सोमबार, जेष्ठ २४, २०७३ साल,

कलैया । सेवाग्राहीको कामको बिषयलाई लिएर विवाद बढेपछि जिल्ला अदालत बाराका कर्मचारी र वकिलबीच सोमबार अदालतभित्रै कुटाकुट भएको छ।
जिल्ला अदालतको मुद्धा फाटका सुब्बा अरविन्द महतो र अधिवक्ता नागेन्द्र राउतविच कुटाकुट भएको हो।
सेवाका लागि अदालतमा पुगेका सेवाग्राहीको काम गर्न आलटाल गर्ने गरेको भन्दै अधिवक्ता राउतले गुनासो गरेपछि उनि र सुब्बा महतोविच अदालतमै विवाद भएको थियो। अदालतमा भएको विवाद बढ्दै गएपछि कुटाकुटको स्थिती आएको हो।
सेवाग्राहीको काममा किन ढिलासुस्ती गरेको भन्दै अधिवक्ता राउतले तेर्साएको प्रश्नमा सुब्बा राउत झर्किन थालेपछि विवाद बढेको हो।
विवाद बढ्दै गएपछि उनिहरुबीच भित्रै कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन्। दुई जनाबीच कुटाकुट हुन थालेपछि अदालतको अवस्था केहीबेर तनावपूर्ण बनेको थियो।
सेवाका लागि पुगेका सेवाग्राही उनीहरुबीचको कुटाकुटको रमिते बनिरहेका थिए। दुई जनाबीच कुटाकुट हुन थालेपछि प्रहरीले उनिहरुलाई रोकेका थिए।