
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दबाबका कारण चार वर्षअघि देखि रामपुरमा भर्ना रोकेको त्रिभुवन विश्वविद्यालयले यस वर्ष पुनः कृषि विषयको भर्ना लिने भएको छ ।
कृषिको महत्व बढिरहेका बेला विद्यार्थीको चाप र स्थानीयवासीको आग्रहमा पुनः भर्ना लिने तयारीमा पुगेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा तीर्थ खनियाले बताए । त्रिभुवन विश्वविद्यालयको रामपुर क्याम्पसमा कृषि, भेटेरिनरी र पशु चिकित्साको स्नातकदेखि विद्यावारिधिसम्मको पढाइ हुँदै आएको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनासँगै स्थानीयवासी, राजनीतिक दल, प्राध्यापक, विद्यार्थी लगायतले भर्ना नलिन दबाब दिएपछि त्रिभुवन विश्वविद्यालयले रामपुरमा भर्ना रोकेको थियो तर वन विज्ञानको भने हेटौँडामा पढाइ जारी राखेको थियो । उपकुलपति खनियाले चितवनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि विषय पढाउनुपर्नेमा दलसमेत सकारात्मक रहेको बताए ।
हालका लागि भने रामपुरमा नै पढाउने तयारी विश्वविद्यालयले गरेको छ । वैकल्पिक राम्रो स्थान जिल्लामा अन्यत्र पाएमा सो स्थानमा स्थानान्तरण गर्ने तयारीमा विश्वविद्यालय रहेको छ ।
रामपुर क्याम्पसका प्रमुख श्यामसुन्दर पन्तले भदौ महिनामा भर्ना लिइने बताए । त्रिभुवन विश्वविद्यालयले कृषिमा १२० र भेटेरिनरी(पशु चिकित्सामा ४२ जना विद्यार्थी भर्ना लिँदै आएको थियो । पछिल्लो समय कृषि तथा वन विज्ञान विश्वविद्यालयभित्र आन्तरिक कलह बढेसँगै त्यसको फाइदा उठाएर त्रिभुवन विश्वविद्यालय पुनः रामपुर छिर्न लागेको अनुमान गरिएको छ । रासस