कक्षा १ को मासिक शुल्क २८ हजार

बिहीवार, बैशाख २३, २०७३ साल,
काठमाडौं । ललितपुरको युलेन्स र रातोबंगला स्कुलले कक्षा १ मा मासिक शिक्षण शुल्क महँगो लिने गरेको पाइएको छ । युलेन्सले कक्षा १ मा २८ हजार र रातो बंगलाले मासिक २५ हजार रुपैयाँ लिँदै आएको पाइएको हो ।

संयुक्त विद्यार्थी संगठन र सरकारी प्रतिनिधिसहितको टोलीले बुधबार गरेको अनुगमनमा युलेन्स र रातो बंगलाले सो परिमाणको शुल्क लिने गरेको पाइएको हो । नेविसंघका प्रवक्ता युपी लामिछानेले युलेन्स र रातोबंगला स्कुलले सरकारले तोकेभन्दा धेरै शुल्क लिने गरेको जानकारी दिए । जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र अभिभावकका प्रतिनिधिसहित गरेको अनुगमनमा कुनै पनि स्कुल नियमसंगत रूपमा नचलेको पाइयो । विद्यालय निरीक्षकले हाम्रा कुरा केही नसुन्ने गुनासो गरेका थिए ।

विद्यार्थी संगठनले अनुगमन थालेपछि सरकारले वार्तामा बोलायो
निजी विद्यालयहरूलाई शुल्क नबढाउन आग्रह गरिए पनि उनीहरूले अटेर गरेकाले संयुक्त विद्यार्थी संगठन अनुगमनमा गएको लामिछानले बताए । ‘गत वर्ष ६ वैशाखमा भएको विद्यार्थी संगठनसँगको सहमति कार्यान्वयन नभएपछि अनुगमनमा खटेका हौँ,’ उनले भने ।

विद्यार्थी संगठनले निजी स्कुल अनुगमन थालेपछि शिक्षा मन्त्रालयले विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । विद्यार्थी संगठनले भने अनुगमन र वार्तालाई सँगसँगै अघि बढाउने बताएका छन् ।

प्रिमियर स्कुलमा भर्ना शुल्क ५० हजार
प्रिमियरमा नयाँ भर्ना शुल्क ५० हजार रुपैयाँ रहेको छ । प्रिमियरमा मासिक शिक्षण शुल्क दुई हजार तीन सय रुपैयाँ छ । यस वर्षदेखि शिक्षा मन्त्रालयले विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका ल्याएको छ । सो निर्देशिकाअनुसार अभिभावक भेलाको दुई तिहाइको निर्णय भएपछि मात्र निजी विद्यालयले शुल्क लिन पाउने व्यवस्था गरेको छ । तर, अधिकांशले अभिभावक भेला गरेका छैनन् ।

निजी स्कुलमा बेथिति नै बेथिति
शिक्षा विभागका उपनिर्देशक बलबहादुर कार्कीको संयोजकत्वमा रहेको अभिभावक तथा अन्य सरोकारवालासहितको टिमले गरेको अनुगमनमा धेरै बेथिति पाइएको छ । कतै अनुमति दिएका विद्यालय भेटिएनन् भने कतै शिक्षा नियम उल्लंघन गरेको पाइएको छ ।

विभागको टिमले बुधबार कपनमा सञ्चालनको अनुमति पाएको डेफोडिल पब्लिक स्कुल अनुमति पाएको ठाउँमा नपाइएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । ‘विद्यालय सञ्चालनको अनुमति पाएको ठाउँमा डेफोडिल स्कुल भेटिएन । जिशिकालाई पनि जानकारी छैन । अनुमति नभई सार्न पाइँदैन,’ उनले भने । टोलीले एपेक्स, प्रिमियरलगायतका स्कुलमा अनुगमन गरेको थियो ।  शिक्षा नियमावलीअनुसार कुनै पनि स्कुलले नियम पालना नगरेको पाइएको अध्यक्ष भण्डारीले बताए । नयाँ पत्रिका दैनिकबाट

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411