नेप्से दोहोरो अंकले बढ्दा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर किनबेच

शुक्रबार, बैशाख १७, २०७३ साल,
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा झण्डै चार अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । गतसाताको तुलनामा दश अंकले बढेको बजारमा विभिन्न आठ कम्पनीको २ करोड ७ लाख कित्ता शेयर थपिएका छन् । यो साता स्टाण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

 यस साता नेपाल स्टक एक्सचेन्जमा १४१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजार ४ सय ६४ कारोबारबाट चार अर्ब ५९ करोड ९५ लाख २५ हजार रुपैयाँ बराबरका ६९ लाख ३५ हजार तिन सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५।२८ प्रतिशत बढि हो ।

गत साता १४५ कम्पनीहरुको कारोबार भएको थियोे । जस अनुसार १८ हजार ३१० कारोबारबाट चार अर्ब ३६ करोड ८८ लाख ६९ हजार रुपैयाँ बराबरका ७४ लाख २४ हजार छ सय  कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०।५६ अंकले बढेर अन्तिम दिन १४६४.९१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २।११ अंकले बढेर ३१७.२७ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (४० करोड ५० लाख रुपैयाँ) को आधारमा स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकले जेठ २१ गते हुने साधारणसभा प्रयोजनका लागि बुक क्लोजअघिको अन्तिम साप्ताहिक कारोबार भएकाले उसको यो साता उच्च कारोबार भयो। कम्पनीले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएपछि लगानीकर्ताको आकर्षण बढेको हो।

त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख २६ हजार कित्ता_ को आधारमा नेसनल हाईड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरीे कारोबार संख्या (११९९ वटा) को आधारमा नेपाल बंगलादेश बैंक लिमीटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।  

यस साता बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ८ कम्पनीका २ करोड ७ लाख कित्ता सेयर बजारमा थपिएको छ। यी कम्पनीका साधारण, बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख ७३ हजार ६ सय ७५ कित्ता बोनस सेयर थपिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411