​नेप्से १० अंकले बढेर १ हजार ४४० अंकमा पुग्यो, १ अर्ब बढिको सेयर कारोबार

बुद्धबार, बैशाख ८, २०७३ साल,
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आज १ अर्ब ७ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १ सय ३० कम्पनीको १३ लाख ९७ हजार कित्ता सेयर किनबेच हुँदा सो मूल्यको कारोबार भएको हो। 
 
निरन्तर उकालो लागेको बजार आज करिब १० अंकले बढेको छ। ९.८८ अंकको बृद्धिसँगै बजारको परिसूचक १ हजार ४ सय ४० मा कायम भएको छ।  क वर्गका कम्पनीको मापन सूचक २.३८ अंकले बढ्यो। बिमा र हाइड्रो समूहका लगानीकर्ताले सेयर मूल्य गुमाए भने अरु समूहका लगानीकर्ताले कमाए। 
 
यस दिन बिमा समूह २३.३५ अंक र हाइड्रोपावर समूह ३.३७ अंकले घटेको छ। प्रभुत्व कायम रहेको बैंकिङ समूह नै आज सबैभन्दा धेरै अंकले बढ्यो। सो समूह १६.२३ अंकले बढेको छ। अन्य समूह ७ अंकले बढेको छ। होटल, विकास बैंक र फाइनान्स समूह पनि झिनो अंकले धनात्मक रहे। 
 
एभरेष्ट बैंकको मात्रै २० करोड रुपैयाँको सेयर कारोबार भएको छ। सो कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता १५ रुपैयाँले बढेर २ हजार ९ सय २० रुपैयाँ अन्तिम मूल्य कायम भएको छ। 
 
त्यस्तै सिटिजन्स बैंकको पनि सेयर कारोबार उच्च रह्यो। सो कम्पनीको ७ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। हालै तेस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको कम्पनीको आकर्षक नाफा बृद्धिदर र हकप्रद सेयरका कारण लगानीकर्ताको आकर्षण कम्पनीमा देखिएको छ। कम्पनीको सेयर अन्तिम सेयर मूल्य प्रतिकित्ता ७ सय ९८ पुगेको छ। 
 
स्टाण्डर्ड चार्टर्ड बैंकको ६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भयो। सो बैंकको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३ हजार ३ सय ४० रुपैयाँमा कायम भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ९९ लाख रुपैयाँको कारोबार हुँदा सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँले बढेर १ हजार १ सय ८५ मा कायम भएको छ। 
 
एसबीआई बैंकको ४ करोड २२ लाख, नेसनल हाइड्रोको ३ करोड ७७ लाख तथा सानिमा बैंकको ३ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 
 
कारोबार रकमका आधारमा वाणिज्य बैंकहरु अगाडि रहे पनि नाफाका आधारमा भने विकास बैंकहरु अगाडि रहे। महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत सेयर मूल्य कमाए। मितेरी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंकका लगानीकर्ताृले ९.९ प्रतिशत सेयर नाफा कमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411