
काठमाडौं । युरोपेली कम्पनी टेलियासोनेराले एनसेलमा रहेको बहुमत सेयर मलेसियाली कम्पनी एक्जियटालाई हस्तान्तरण गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै टेलियासोनेराले गत डिसेम्बरमा भएको सहमतिअनुसार रेनल्ड्स होल्डिङ्सको नाममा रहेको ६०.४ प्रतिशत सेयर हस्तान्तरण भएको औपचारिक जानकारी दिएको हो । हस्तान्तरित सेयरको मूल्य १ हजार ३० मिलियन अमेरिकी डलर छ ।
टेलियासोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जोहान डेन्नेलिन्डले पुरानो सहमतिअनुसार सेयर हस्तान्तरण गरेको घोषणा गर्दै नेपालका लागि एक्जियटा उपयुक्त लगानीकर्ता भएको बताए । “सेयर हस्तान्तरणले युरेसियाबाट आफ्नो उपस्थिति घटाउने कार्यमा सघाउ पुगेको छ,” उनले भने ।
एसियाकै ठूलो टेलिकम कम्पनी एक्जियटाका २७ करोड ५० लाख ग्राहक भएको र कम्पनीमा २५ हजारले रोजगारी पाएको उल्लेख छ । एनसेल बिक्री नेपाली कर्पोरेट इतिहासकै ठूलो कारोबार हो भने मलेसियाली कम्पनीको नेपाली दूरसञ्चार क्षेत्रमा पहिलो प्रवेश हो ।
एक्जियटालाई १ हजार ३० मिलियन डलरमा बिक्री गर्ने र एनसेलको औपचारिक स्वामित्वमा रहेको २० प्रतिशत सेयर पनि टेलियासोनेराले ४८ मिलियन अमेरिकी डलरमा बिक्री गर्ने घोषणा यसअघि नै गरेको थियो । एनसेलमा टेलियासोनेराको ६०.४ प्रतिशत, नीरजगोविन्द श्रेष्ठको २० प्रतिशत र भाइजर समूहको १९.६ प्रतिशत सेयर थियो ।
स्थानीय लगानीकर्ता श्रेष्ठको सेयर पनि भावना सिंह श्रेष्ठको नाममा बिक्री भइसकेको छ । उनी स्थानीय साझेदारका रूपमा रहनेछिन् । विदेशी लगानीकर्ता नेपाल आउँदा कम्पनीमा २० प्रतिशत लगानी स्थानीयको हुनुपर्ने प्रावधान छ । २० प्रतिशत सेयर भावनाले सिंगापुरमा दर्ता भएको सुनिभेरा क्यापिटल भेन्चरसँग हुनेछ ।
एनसेलको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ छ । टेलियासानेराको गत सेप्टेम्बरको बोर्ड निर्णयले नेपाल, काजकिस्तान, उज्वेकिस्तान, अजरबैजान, माल्दोभा र ताजकिस्तानबाट लगानी फिर्ता लैजाने निर्णय गरेको छ ।