​मेगा बैंक र भारतको एस बैंकबीच रेमिट सम्झौता, ११ हजार वटा एजेन्टहरुबाट सिधै नेपालमा रेमिट्यान्स पठाउन सकिने

बिहीवार, चैत्र २५, २०७२ साल,
काठमाडौं । भारतमा कार्यरत नेपालीलाई स्वदेशमा सहज रुपमा रेमिट्यान्स पठाउन मेगा बैंक नेपाल लिमिटेडले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ।

सम्झौता पत्रमा मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ र एस बैंक भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले हस्ताक्षर गरेका छन्।

मेगा बैंकसँगको यो सम्झौतापछि नेपालीहरुले आफूले आर्जन गरेको रकम अब एस बैंकको रेमिट्यान्स सेवामार्फत स्वदेशमा पठाउन सक्नेछन्। मेगा बैंकले साना मझौला व्यवसाय कर्जा तथा शाखारहित बैंकिङ सेवामार्फत गाउँगाउँमा अत्याधुनिक सेवा प्रदान गरिरहेकाले एस बैंकसँगको सम्झौतापछि ग्रामीण भेगामा रहेका नेपाली झनै बढी लाभान्वित हुने मेगा बैंककी चिफ बिजनेश अफिसर रविना देशराज श्रेष्ठले बताइन्।

एस बैंकसँगको सम्झौतापछि भारतसँग व्यापारिक कारोबार गरिरहेका व्यवसायी तथा भारतमा कार्यरत नेपालका ग्रामीण भेगका मध्यमवर्गीय परिवार सबैभन्दा बढी लाभान्वित हुने विश्वास हामीले लिएका छौ उनले भनिन्।

सम्झौता अनुसार भारतस्थित एस बैंकको ११ हजार वटा एस मनी सर्भिसका एजेन्टहरुबाट सिधै नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ। पठाएको रकम मेगा बैंकको कुनै पनि शाखा कार्यालय वा देशभरि रहेका कुनैपनि एजेन्टबाट भुक्तानी लिन सकिनेछ। मेगा बैंकका देशभर ३० शाखा कार्यालय, ५३ वटा शाखारहित बैंकिङ सेवा र १३ सय ५० भन्दा बढी रेमिट्यान्स एजेन्टहरु रहेका छन्।

मेगा बैंकले स्थापनाकाल देखि नै कतार, युएई, बहराइन, मलेसिया, जापान, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुको बैंक र एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स कारोवारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आइरहेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411