बनेपास्थित सूचना प्रविधि पार्क सञ्चालन गर्न सम्झौता, पार्क तीन वटा सस्थाले चलाउने

बिहीवार, चैत्र २५, २०७२ साल,
बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित सूचना प्रविधि पार्क सञ्चालनमा ल्याउनेबारे बुधबार सम्झौता भएको छ ।
 
विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभाग, सफ्टेक फाउण्डेसन प्रालि, डिल्लीबजार, क्लाउड हिमालय प्रालि थापाथली र काठमाडौँ विश्वविद्यालय, धुलिखेलबीच पार्कमा सूचना तथा प्रविधि उद्योगसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो।
 
सम्झौताअनुसार सफ्टेक फाउण्डेसन प्रालिले व्यावसायिक भवनको एक व्यावसायिक इकाइमा सफ्टवेयरको विकाससम्बन्धी काम गर्ने, क्लाउड प्रालिले व्यावसायिक भवनमा डाटा सेन्टर सञ्चालन गर्ने छ । काठमाडौँ विश्वविद्यालयले दुई व्यावसायिक इकाइमा सूचना प्रविधिमा आधारित नयाँ उद्योगको इन्कुवेसन केन्द्र तथा फिनिसिङ स्कुल सम्बन्धी काम गर्ने विज्ञान तथा प्रविधि मन्त्रालय सूचना प्रविधि विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 
सो सम्झौतामा विभागका तर्फबाट महानिर्देशक वीरेन्द्रकुमार मिश्र, विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार डा भोला थापा, सफ्टेक फाउण्डेसनको तर्फबाट प्रबन्ध निर्देशक अम्बिकाप्रसाद लुईंटेल र क्लाउड हिमालयका तर्फबाट अध्यक्ष रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरे।
 
सम्झौताका कारण कम्तीमा १३० जना सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिको लागि नयाँ रोजगारी सिर्जना हुने र वार्षिक रुपमा १० नयाँ सूचना प्रविधिमा आधारित कम्पनी स्थापना भई  हरेक वर्ष रोजगारीका अवसर बढ्दै जाने अपेक्षा गरिएको छ ।
 
२०६२ सालमा निर्माण सम्पन्न भएको यो पार्क सञ्चालनका लागि यसवर्ष सूचना प्रविधि पार्क सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७२ समेत स्वीकृत भएको छ। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411