​२०० मुहान सुक्दा रारा तालको सतह आधा मिटर घट्यो, स्थानीयवासीलाई भोकमरीभन्दा पानी कै चिन्ताले सतायो

शुक्रबार, चैत्र १९, २०७२ साल,
मुगु । रारा गाविस मुर्मा गाउँका धनसिंह रोकाया गाउँमा वर्षौंदेखिको खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् । करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउँका स्थानीयवासीलाई भोकमरीभन्दा पिउने पानीको बढी चिन्ता छ । पानीको मुहानमा पालो लगाएर एक घरलाई एक गाग्री पानी भाग लगाउने गरिएको छ ।

मुर्मा गाउँका स्थानीयवासीलाई रातभर जाग्राम बसेर एक गाग्री पानी पाउन कठिनाइ भएको धनसिंहले बताए । लामो खडेरीमा पनि कहिल्यै नसुकेको पानीको मुहान यो पटक सुक्दा समस्या भएको उनले   बताए ।

रुगा गाविसका १५० दलित परिवारलाई उस्तै पानीको सङ्कट देखिएको छ । गाउँदेखि आघा घन्टा टाढा खडेरीले कुवा सुक्न थालेपछि एक गाग्री पानी पाउन मुस्किल हुन थालेको छ ।

कुवामा पानी भर्न रुगा गाउँका स्थानीयवासी लाइनमा बस्नुपर्ने अवस्था छ । दिउँसो पालो नपाएर रातभर कुवामै बसेर पानी भर्ने गरेका छन् । खडेरीले स्थानीयवासीलाई भोकमरीभन्दा पानीको चिन्ताले सताएको छ ।

ज्यालादारी काम गरेर पैसा कमाएर चामल किनेर खाउँला तर पानी कहाँबाट ल्याउँला रुगा गाविसकी जउकली कामीले भनिन्, ‘अनाजभन्दा पानी पाउन गाह्रो हुन थाल्यो कस्तो जमाना आयो ।’

जिमा गाविसको सोरुकोट र बन्जाह गाउँका करिब २०० परिवारलाई पनि पानीको समस्या बेहोर्नुपरेको छ । खडेरीले दिउँसो धारोमा पानी नआउने र राति तिरतिर गरेर पानी झर्न थालेपछि समस्या भएको छ ।

सोरुकोट गाउँका स्थानीयवासी हातमा जर्किन बोकेर आघा घन्टा तल तिर्सेखोलामा पुगेर पानी ल्याउने गरेका छन् । बन्जाह गाउँका स्थानीयवासी रातभर जाग्राम बसेर एक गाग्री पानी भर्नुपरेको छ ।

हामीलाई भोकमरीभन्दा पानीको साह्रै सङ्कट उत्पन्न भयो बन्जाह गाउ“की पुनी मल्लले भने, ‘खडेरीले औलदेखि लेकसम्मका पानीका मुहान सुकिसके एक पानी अनाजभन्दा एक गाग्री पानी पाउन गाह्रो हुन थाल्यो ।

जिल्लामा लामो खडेरी परम्परागत पानीका मुहान सुकेपछि स्थानीयवासीलाई गाउँ छोडेर अन्यत्र सनुपर्ने अवस्था आउन थालेको छ । कहिल्यै नसुकेको पानीका मुहान यो पटक सुकेका छन् ।

जिमा गाविसको ख्याल्च गाउ“का स्थानीयवासीलाई अनाजभन्दा पिउने पानीले सताएको छ । करिब ८० घरधुरी रहेको उक्त गाउ“मा रहेको पुरानो पानीको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको छ ।

डोकोमा गाग्री राखेर आघा घन्टा टाढाबाट पानी ल्याएर खानुपर्ने अवस्था आएपछि ख्याल्च गाउँका स्थानीयवासी चिन्तित भएका छन् ।

उता फोतु गाविस सोडडा गाउँका ४५ घरधुरीलाई उस्तै पानीको सङ्कट उब्जिएको छ । खडेरीले गाउँघरका पुराना स–साना सबै मूल सुकिसके रुगा गाविस सुम्ली गाउँका ७२ वर्षीय धने भण्डारीले भने, ‘यस्तै हो भने अब कर्णालीको छेउछाउमा गएर बस्नुपर्ने अवस्था आइसक्यो ।’

समुद्री सतहदेखि करिब दुई हजार ९०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल रारा तालमा मिसिने करिब ६२ वटा पानीका मुहान खडेरीले सुकेपछि इतिहासमै पहिलोपटक आघा मिटर ताल घटेको छ ।

ठूलो खडेरीले पानीका मुहान सुकेपछि देशकै ठूलो ताल राराको पानी आधा मिटर तल घटेको निमित्त रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत गोपाल खत्रीले बताए । रारा तालको निकास खत्याड खोला पनि सुकेको छ ।

रारा तालको पानी घटेपछि कार्कीवाडा गाविसको लेकबस्तीका पानीका आधा दर्जनभन्दा बढी पानीका मुहान पनि सुकेको स्थानीयवासीको भनाइ छ । लेकाली बस्तीका स्थानीयवासीलाई पानी बोकेर खानुपर्ने अवस्था आएको छ ।

जिल्लाको २४ वटै गाविसमा करिब २०० पानीका मुहान सुकेका छन् खडेरीले धमाधम पानीका मुहान सुक्न थालेपछि त्यसको असर मानव चौपाया वस्तु वन्यजन्तु र चराचुरुङ्गीलाई असर परेको छ ।

पानीका मुहान सुक्न थालेपछि सरकारी तथा गैरसरकारी खानेपानी आयोजना प्रभावित भएका छन् । पहिले बनाएका अलपत्र परेका र निर्माणको तयारीमा रहेका आयोजना रोक्नुपर्ने अवस्था आएको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411