देशको बचत फेरि धनात्मक, मूल्य बृद्धि घट्यो, आयात बृद्धि, निर्यातमा ह्रास

सोमबार, मंसिर १, २०७१ साल,
काठमाडौं। देशमा भित्रिनेभन्दा वाहिरिने रकम वढी भएर भदौमा साढे १० अर्ब रुपैयाँ घाटामा रहेको देशको शोधनान्तरस्थितिमा सुधार देखिएको छ। असोज महिनामा शोधनान्तर बचत दुई अर्ब ९६ करोड रुपैयाँ भएको छ। चालु खाता भने सात अर्ब ५९ करोड रुपैयाँ घाटामा नै छ।
 
असोजमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाउने रकम रेमिटेन्स बृद्धि दर सामान्य घटेर एक खर्ब ३४ अर्ब १९ करोड रुपैयाँ भित्रिएको छ। यो अवधिमा विदेशी मुद्रा विनियम सञ्चिति २.१ प्रतिशतले बढेर छ खर्ब ७९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। 
 
बैंकहरुले कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर केही वढाए पनि पाँच प्रतिशतभन्दा तल नै कायम राखेका छन्। भदौमा ब्याज अन्तर ४.३२ प्रतिशत रहेकोमा असोजमा ४.८३ प्रतिशत पुगेको छ। बैंकहरुको आधार दर निकै घटेको राष्ट्र बैंकले जनाएको छ। आधार दर ९.२३ प्रतिशतबाट घटेर ७.७३ प्रतिशतमा झरेको छ। 
 
मूल्य बृद्धि दर पनि घटेको तथ्यांक राष्ट्र बैंकले सोमबार प्रस्तुत गरेको छ। अघिल्लँे बर्षको असोजमा ८.४ प्रतिशत रहेको मूल्य बृद्धि दर यसपाली ७.५ प्रतिशत मात्र छ। औषत दरभन्दा काठमाडौं उपत्यकाको मूल्य बृद्धि दर अलिकति वढी छ। उपत्यकाको मूल्य बृद्धि दर ७.७ प्रतिशत छ। यसैगरी तराई र पहाडी क्षेत्रको मूल्य बृद्धि दर ७.४ प्रतिशत छ।
 
अर्थतन्त्रको सबै सुचक सकारात्मक भए पनि सरकारले खर्च गर्ने क्षमता भने घटाएको छ। अहिले सरकार ३७ अर्ब ४४ करोड बचतमा छ। अघिल्लो बर्ष यतिबेला ३२ अर्ब ६२ करोड रुपैयाँ बचतमा थियो। विकास खर्च घटेका कारण सरकारको बचत बढेको हो।
 
सरकारको राजश्व भने १६.३ प्रतिशतले बढेर ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्षको बृद्धि दर अझ वढी २६।१ प्रतिशत थियो। 
 
सरकारले असोज मसान्तसम्म बैदेशिक नगद ऋण एक खर्ब ९९ करोड र अनुदान तीन अर्ब ३४ करोड प्राप्त गरेको छ। अघिल्लो बर्ष यतिबेला एक अर्ब १९ करोड ऋण र १३ अर्ब ३९ करोड अनुदान पाएको थियो। 
 
असोजसम्म कुल ब्यापार घाटा २९।५ प्रतिशतले बढेर एक खर्ब ६९ अर्ब ७२ करोड पुगेको छ। अघिल्लो बर्ष घाटा १३.२ प्रतिशतले बढेको थियो। यो अवधिमा निर्यात २।३ प्रतिशतले घटेर २२ अर्ब ५३ करोड रुपैयाँ मात्र पुगेको छ। आयात भने २४.७ प्रतिशतले बढेर एक खर्ब ९२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411