​सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको समस्या समाधान गर्न पहल गर्छु– प्रचण्ड

शुक्रबार, फागुन २१, २०७२ साल,
काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका जायज माग पूरा गराउन आफूले पहल गर्ने बताएका छन्। 
 
विश्वविद्यालय मातहतका आङ्गिक क्याम्पसका प्रमुख र क्याम्पस सञ्चालक समितिका अध्यक्षले आज अध्यक्ष दाहालको निवास लाजिम्पाटमा गरेको सामूहिक भेटका अवसरमा उनले सबै प्रक्रिया पूरा भइसकेको सन्दर्भमा पनि क्याम्पस सञ्चलनमा समस्या नहुनुपर्ने बताए। 
 
अध्यक्ष दाहालले भने, ‘‘म विश्वविद्यालयसँग सम्बन्धित समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिमा सत्तासाझेदार दलसँग छलफल गरेर कुनै न कुनै निकास दिन पहल गर्छु ।’’ क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षले स्थानीय समस्याका विषयमा अध्यक्ष दाहाललाई जानकारी गराएका थिए। 
 
कुल १५ आङ्गिक क्याम्पसका चार सय ४४ दरबन्दी स्वीकृति गरी कार्यान्वयन गराउन पहल गरिदिन उनीहरुले आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 
 
विश्वविद्यालयको तेस्रो सभाबाट सुदूरपश्चिममाञ्चलका नौ वटै जिल्लाबाट १५ सामुदायिक क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भइसकेको छ। जनसहभागितामा सञ्चालित ती सामुदायिक क्याम्पसमा सुदूरपश्चिममाञ्चल क्षेत्रका ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन्। 
 
आङ्गिक क्याम्पसको अनिवार्यतालाई ध्यानमा राखी ती क्याम्पसलाई आवश्यक दरबन्दी शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट पनि स्वीकृत भइसकेका छन् । हाल अर्थ मन्त्रालयले उचित निर्णय नगरिदिँदा बजेट प्राप्त गर्न समस्या भएको गुनासो क्याम्पस सम्बद्ध पक्षले अध्यक्ष दाहाल समक्ष गरेको थियो । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411