सनराइज बैंकले नारायणी नेशनल फाइनान्स किन्ने

मंगलवार, फागुन १८, २०७२ साल,
काठमाडौं । चुक्ता पूँजी ८ अर्ब रुपैंया पुर्याउने दौडधुपमा रहेको सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई खरिद गर्ने सम्बन्धमा सम्झौता गरेको छ । 

सोमबार एक कार्यक्रमका बिच बैंक तथा फाइनान्सका अध्यक्षले एक्विजिशन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सनराइज बैंकले अहिले निष्काशन गरेको १५ प्रतिशत हकप्रद, साढे २१ प्रतिशत बोनस र यो एक्विजिशन पश्चात चुक्ता पूँजी ६ अर्बको हारहारीमा पुर्याउने छ ।

सम्झौता पत्रमा सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड र नारायणी नेशनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले हस्ताक्षर गरेका हुन् ।

सम्झौता हस्ताक्षरपुर्व दुवै संस्थाका सञ्चालकहरुको संयुक्त बैठक बसेको थियो । बैठकले फाइनान्स खरिद प्रकृयाका लागि शेयर स्वाप रेशियो अर्थात शेयर आदान प्रदान अनुपात तय गर्न अडिट गर्ने कम्पनी छनौट गरेको छ । स्वाप रेशियो भने डिडिएको प्रतिवेदनका आधारमा तय गरिने सम्झौता भएको सनराइज बैंकका कम्पनी सचिव इश्वरकुमार पाठकले जानकारी दिए ।

बैठकले नारायणी नेशनल फाइनान्सको शेयर कारोबार रोक्का गर्दै नेपाल राष्ट्र बैंकमा खरिद प्रकृयाका सम्बन्धमा निवेदन पेश गर्ने निर्णय गरेको छ । उक्त सहमति पत्र बमोजिम सनराइज बैंकले हाल ३० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्ने उद्धेश्यले फागुन २३ गतेका लागि बोलाइएको विशेष साधारण सभा समेत स्थगित गरेको छ । 

फाइनान्स खरिद प्रकृया पुरा भए पश्चात बन्ने पूँजीका आधारमा न्युनतम ३० प्रतिशत नघटाइ हकप्रद शेयर निष्काशन गर्ने गरि फेरी साधारण सभा आह्वान गर्ने बैंकले जनाएको छ ।

अहिले सनराइजको चुक्ता पुँजी तीन अर्ब २२ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २१।५ प्रतिशत बोनस शेयर दिएको थियो । यस्तै बैंकले अहिले १५ प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ । यो शेयर सूचीकरण तथा फाइनान्स खरिद पश्चात बैंकको चुक्ता पूँजी ६ अर्बको हाराहारीमा पुग्नेछ ।

चितवनको नारायणी फाइनान्स र काठमाण्डौंको नेशनल फाइनान्स मर्ज भइ नारायणी नेशनल फाइनान्स बनेको थियो । अहिले नारायणी नेशनल फाइनान्सको चुक्ता पुँजी ८० करोड २२ लाख रुपैयाँ छ ।

पुस मसान्तसम्ममा सनराइजको जगेडा कोषमा ७९ करोड तथा नारायणी नेशनल फाइनान्सको जगेडा कोषमा ३५ करोड रुपैयाँ छ । 

नारायणी नेशनल फाइनान्स किनेपछि सनराइज बैंकको निक्षेप ४४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । अहिले सनराइजको निक्षेप ३७ अर्ब २२ करोड रुपैयाँ छ भने नारायणी नेशनलको निक्षेप ६ अर्ब ८८ करोड रुपैयाँ छ । यस्तै कर्जा लगानी पनि ३६ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ । अहिले सनराइजले ३० अर्ब १० करोड कर्जा लगानी गरेको छ भने नारायणी नेशनलले ६ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आर्थिक बर्षको द्रोस्रो त्रैमासमा अर्थात पुस मसान्तसम्ममा सनराइज बैंकले ३६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले डुबेको मध्येबाट करिव १७ करोड ४७ लाख रुपैयाँ ऋण उठाएका कारण नाफामा उल्लेखीय बृद्धि आएको हो । बैंकको खराव कर्जा अनुपात पनि करिव ४ प्रतिशतबाट झरेर २.३० प्रतिशतमा आएको छ । बैंकको प्रति शेयर आम्दानी २२ रुपैंया ६० पैसा छ । 

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411