​क्यान इन्फोटेकमा श्रमशोषण भयो : स्वयम्सेवक

बुद्धबार, माघ २०, २०७२ साल,
काठमाडौं । क्यान इन्फोटेक’ मा स्वयम्सेवक परिचालनका नाममा श्रमशोषण भएको व्यवस्थापनमा खटिएका युवायुवतीले गुनासो गरेका छन् । 
 
यही माघ १५ गतेदेखि भृकुटीमण्डपको प्रदर्शनीमार्गमा सुरु भएको छदिने मेलामा ६५ जना स्वयम्सेवक व्यवस्थापनमा खटिए । आयोजकले ‘अनलाइन जब’ मा स्वयम्सेवकको आवश्यकता भनी विज्ञापन गरेर स्वयम्सेवक छनोट गरेको थियो । 

 व्यापारिक रुपमा गरिएको प्रदर्शनीमा बिहानदेखि बेलुकीसम्म खाना र खाजाका भरमा काम गराएर श्रम शोषण गरिएको पीडितको गुनासो छ । 
 
‘प्रमाणपत्र दिन्छौँ’ भनी स्वयम्सेवकको काममा लगाएर शोषण गरिएको समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी कपनकी अप्सरा पोखरेलले बताए । “आफ्नै खल्तीबाट भाडा तिरेर स्वयम्सेवक काम गर्न आएका छौँ, हामीलाई भाडा र पारिश्रमिकको व्यवस्था गर्नुपर्‍यो भन्दा आयोजक कम्प्युटर एसोसियसन नेपाल महासङ्घले सुनेको छैन”–उनले भने  । 
 
मेलामा स्नातक तह अध्ययन गरिरहेका जनशक्तिले मात्र स्वयम्सेवकको रुपमा काम गर्दैछन् । स्वयम्सेवकमा काम गर्न अन्तर्वार्तासमेत लिइएको पीडितले सुनाए । 
 
एक्मी इन्जिनियरिङ कलेजबाट स्नातक उपाधि हासिल गरेकी आस्था न्यौपाने पारिश्रमिकसहितको स्वयम्सेवक भनेर आएपनि बिहानको खाना र दिउँसोको खाजामा काम गराएको बताउछन् । 
 
सरकारले अदक्ष कामदारकै पारिश्रमिक दैनिक रु ८०० तोकेको प्रदर्शनीस्थलसँगै कार्यालय रहेको उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए। 
 
“प्रदर्शनीमा प्रवेश शुल्क साधारणतर्फ  १०० रुपैयाँ र विद्यार्थीलाई  ५० रुपैयाँ लिइरहेका छन्, प्रवेशदेखि नै व्यापार सुरु हुने सूचना प्रविधिसम्बन्धी सामग्रीका व्यापारीको संस्थाले स्वयम्सेवकका नाममा श्रम शोषण गरेको गुनासो मञ्चमा पनि आएको छ” – उनले भने । 
 
महासङ्घले दिएको जानकारीअनुसार एउटा स्टलको  १० हजारदेखि  ५० हजार रुपैयाँसम्म भाडा लिइएको छ । मेलालाई सुबिसु इन्टरनेट प्रदायक संस्था र केबल टेलिभिजन नेटवर्क वितरक संस्थाले प्रायोजन समेत गरेको छ । यसैले यस मेलाको नाम नै सुबिसु क्यान इन्फोटेक राखिएको छ । 
 
पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विषयमा स्नातक तहमा अध्ययनरत अमित पोखरेल पनि महासङ्घले पारिश्रमिक दिने भनेर अन्तिममा नदिएको दुःखेसो पोखे । 
 
आयोजक क्यानका स्वयम्सेवक परिचालन समितिका संयोजक दिनेशराज कार्कीले व्यापारिक मेला भए पनि महासङ्घले पारिश्रमिक नदिएको तर अन्य तालिम दिएर स्वयम्सेवक परिचालन गरिएको बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411