धितोपत्र बोर्डको मर्चेन्ट कारोबार गर्ने कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने तयारी

आईतवार, माघ १७, २०७२ साल,
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको कार्यक्षेत्र विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । बोर्डले मर्चेन्ट बैंकिङको काम गर्दै आएका संस्थालाई भेन्चर क्यापिटल, प्राइभेट इक्विटी, मर्जर एन्ड एक्विजिसन एड्भाइजरी र इन्भेस्टमेन्ट एड्भाइजरी गरी ४ कार्यक्षेत्र थप्न लागेको हो ।

“मर्चेन्ट बैंकर नियमावली ०६४ संशोधनको तयारीमा छौं,” बोर्ड प्रवक्ता नीरज गिरीले भने, “आवश्यक नीति–नियम व्यवस्था गर्ने यो तयारी अन्तिम चरणमा पुगिसकेको छ । अहिले सञ्चालनमा रहेका मर्चेन्ट बैंकरहरू नयाँ कार्यक्षेत्रमा काम गर्न सक्षम छन, छैनन् भनेर शंका गर्नुभन्दा पनि सक्षम भएकाले नयाँ काम दिन लागिएको हो ।”

अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासलाई नेपालमा पनि अनुसरण गर्नुपर्ने बताउँदै गिरीले आफूहरू सेयर बजारको पूर्वाधार तथा प्रविधिक विकासमा केन्द्रित भएको बताए । उनका अनुसार कुन काम गर्नका लागि कति पुँजी तथा कस्तो पूर्वाधार भन्ने विषयमा भने अहिलेसम्म निश्चित भएको छैन ।

हाल सञ्चालनमा रहेका १६ मर्चेन्ट बैंकरमध्ये अधिकांशले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन र धितोपत्रको प्रत्याभूतिमध्ये सबै वा तीमध्ये कुनै एकमात्र पनि काम सक्छन् । नयाँ कार्यक्षेत्र विस्तारसँगै पुँजी, पूर्वाधार तथा जनशक्ति पनि विस्तार गर्नुपर्ने गिरीले बताए । कामको प्रकृतिअनुसार पुँजी पनि छुट्टाछुट्टै हुनुपर्ने व्यवस्था गरिने उनको भनाइ छ ।

बोर्डको यो तयारीले पुँजीबजार विकासको बाटोमा अघि बढेको प्रष्ट हुन्छ । प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलले सेयर बजारमा सूचीकृत नभएका सार्वजनिक तथा निजी कम्पनीलाई पनि सहयोग गर्नेछ । प्राइभेट इक्विटीभन्दा पनि भेन्चर क्यापिटल लगानीकर्ताको दृष्टिकोणबाट केही जोखिमयुक्त भने हुन्छ । भेन्चर क्यापिटलमा सिर्जनशीलता, अवधारणा र प्रविधिको प्रयोगमार्फत कुनै पनि कम्पनीलाई आड दिन सकिन्छ । प्राइभेट इक्विटीमा अरु नै कसैले यी ३ पक्ष स्थापना गरिसकेको हुन्छ । तर, यी दुबै लगानी योजनामा कुनै पनि कम्पनीको साख, प्रडक्ट र सेवाको भूमिका भने उत्तिकै हुन्छ ।

हाल गरिरहेका कामसहित नयाँ काम गर्न आफूहरू तयार रहेको मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष प्रवीणरमण पराजुलीले बताए । “बोर्डले नियमावली संशोधनका क्रममा सरसल्लाह गरेको थियो र हामीले दिएका सुझावअनुसार नै संशोधन हुन लागेकाले खुसी छौं,” उनले भने ।

व्यवसाय विस्तार गर्न चाहने मर्चेन्ट बैंकरलाई पुँजी, पूर्वाधार तथा जनशक्ति विस्तारको कुनै समस्या नभएको दाबी उनले गरे । बोर्डले धितोपत्र मर्चेन्ट व्यवसायी नियमावली संशोधन गरेको जानकारी दिए कामै गर्न पनि समस्या नहुने उनको भनाइ छ ।

धितोपत्र बजारको विकाससँगै मर्चेन्ट बैंकर पनि स्तरोन्नति हुनुपर्ने बताउँदै पराजुलीले अन्तर्राष्ट्रिय अभ्यास भिœयाउन आफूहरू प्रयासरत रहेको बताए ।

हाल विद्यमान नियमावलीअनुसार मर्चेन्ट बैंकिङसम्बन्धी काम गर्न न्यूनतम चुक्ता पुँजी ७ करोड रुपैयाँ हुनुपर्छ । छुट्टाछुट्टै व्यवसायअनुसारको चुक्ता पुँजी पनि तोकिएको छ । नयाँ काम थप्दा सोहीअनुसार हुने बोर्ड प्रवक्ता गिरीले बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411