​नगद लाभांश बापत एक वर्षमै बाहिरियो ७ अर्ब २१ करोड रुपैयाँ

आईतवार, माघ १७, २०७२ साल,
काठमाडौं । आर्थिक वर्ष ०७१/७२ मा नगद लाभांश बापत ७ अर्ब २१ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ । नेपालमा विदेशी लगानीमा सञ्चालित कम्पनीले कमाएको नाफाबाट वितरित लाभांशस्वरूप त्यस्तो रकम बाहिरिएको हो । सोही अवधिमा राष्ट्र बैंकले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) रहेका कम्पनीलाई सो रकमबराबर नगद लाभांश मुलुकबाहिर लैजान अनुमति दिएको हो ।

नेपालमा वित्तीय, सञ्चार, जलविद्युत्, औद्योगिक र सेवा क्षेत्रमा सञ्चालित उद्योगमार्फत सो रकम बाहिरिएको राष्ट्र बैंकले बताएको छ । यस्तै, राष्ट्र बैंकका अनुसार आव ०७१/७२ को मंसिरसम्म नगद लाभांश बापत १ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ बाहिरिएको छ । चालू आवको पहिलो पाँच महिनामा मात्र विदेशी लगानी भएका कम्पनीले करिब डेढ अर्बभन्दा धेरै रकम लाभांशका रूपमा बाहिर लगेका हुन् ।

गत आवमा मुलुकबाट धेरै लाभांश बाहिर लैजानेमा जलविद्युत् क्षेत्रका कम्पनी अग्रपंक्तिमा छन् । यो क्षेत्रका कम्पनीले एक वर्षमा नगद लाभांश बापत २ अर्ब ८७ करोड ४५ लाख रुपयाँ मुलुकबाहिर (आफ्नो मुलुक) मा पठाएका छन् । हाल जलविद्युत् क्षेत्रमा ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनामा नर्वेजियनको र ४५ मेगावाटको भोटेकोसीमा अमेरिकन कम्पनीको लगानी छ ।

जलविद्युत् क्षेत्रपछि धेरै लाभांशबापत धेरै रकम बाहिर लानेमा औद्योगिक क्षेत्रका कम्पनी रहेका छन् । यो क्षेत्रका कम्पनीले गत आवमा मात्र २ अर्ब २९ करोड ९२ लाख रुपैयाँ लाभांश आफ्नो मुलुक लैजान अनुमति पाएका छन् । युनिलिभर, डाबर नेपाल, आरती स्ट्रिप, सूर्य नेपाललगायत उद्योगमा विदेशी लगानी छ । ती कम्पनीले सोही लगानी बापतको नगद लाभांश फिर्ता लगेका हुन् । यस्तै, धेरै लाभांश बाहिर लैजाने कम्पनीमा वित्तीय क्षेत्र तेस्रो स्थानमा परेको छ । यस क्षेत्रका कम्पनीले एक वर्षमै १ अर्ब ७९ करोड ४४ लाख लाभांश बाहिर पठाएका हुन् ।

हाल नबिल बैंकमा एनबी इन्टरनेसनल आयरल्यान्डको ५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एससिबी ग्रुप, युके र अस्ट्रेलियाको ७५ प्रतिशत, हिमालयन बैंकमा हबिब बैंक, पाकिस्तानको २० प्रतिशत, नेपाल एसबिआई बैंकमा एसबिआई बैंक, भारतको ५५ प्रतिशत लगानी छ ।

त्यस्तै, नेपाल–बंगलादेश बैंकमा आइएफआईसी बैंक बंगलादेशको २५ प्रतिशत, एभरेष्ट बैंकमा पञ्जाब नेसनल बैंक भारतको २० प्रतिशत र एनएमबी बैंकमा योङ लियन रियल्टी, मलेसियाको १३ प्रतिशत विदेशी लगानी छ । यी कम्पनी मार्फत विदेशी लगानीबापत लाभांश स्वरूप करिब पौने २ अर्ब विदेशिएको हो । गत आवमा सेवाक्षेत्रका कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ र सञ्चार क्षेत्रका कम्पनीले ४० लाख रुपैयाँ लाभांश बाहिर लगेका छन् ।

दूरसञ्चार सेवाप्रदायक एनसेल, स्मार्ट, युटिएल, नेपाल स्याटेलाइट र एसटिएममा विदेशी लगानी छ । यी कम्पनीमध्ये एनसेलले लाभांश लैजान पाएको छैन । कम्पनीले पुँजीको वास्तविक स्रोत खुलाउन नसकेको भन्दै राष्ट्र बैंकले लाभांश लैजान रोक लगाएको हो ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411