​तराई–मधेसका जमिन बिस्तारै मरुभूमिकरणतर्फ उन्मुख हुँदै

शुक्रबार, माघ १५, २०७२ साल,
वीरगन्ज । चुरे क्षेत्रको बढ्दो वन विनासका कारण तराई–मधेसका जमिन बिस्तारै मरुभूमिकरणतर्फ उन्मुख हुँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 

चुरे क्षेत्रको बढ्दो वन विनासका कारण बाढी पहिरो हुने गरेको, अन्नको भण्डार मानिने तराई–मधेसका जमिन विस्तारै मरुभूमिमा परिणत हँुदै गएको, पानीको स्रोत सुक्न थालेका, कृषि उत्पादनमा हस आएको र उर्वरभूमि कटान हँुदै गएका जस्ता समस्या देखिन थालेकोले संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्र्नुपर्ने आवश्यकतामा उनीहरुले जोड दिए । 

चुरे क्षेत्रमा भइरहेको तीव्र्र वन फडाँनी र बढ्दो अतिक्रमण नियन्त्रण गर्न प्रभावकारी र ठोस कार्यक्रम ल्याउन जरुरी देखिएको छ । ग्रामीण क्षेत्र तथा कृषि वन विकास केन्द्रका हरिनारायण साहले जैविक विविधताका दृष्टिले प्रचुर उत्पादनशील क्षेत्रको रुपमा रहेको यस क्षेत्रलाई संरक्षण गर्न, जलवायु परिवर्तन र भूक्षयको बढ्दो प्रकोपबाट चुरे क्षेत्रलाई बचाउन तथा उपलब्ध पानीका स्रोतको संरक्षण सुनिश्चित गर्नका लागि सम्बन्धित सबै पक्षबीच उच्चस्तरको समन्वयात्मक सहयोग र सहकार्यको आवश्कता रहेको बताउनुभयो । 

“राष्ट्रको अस्तित्वसँग गाँसिएको चुरे वन क्षेत्रलाई वैज्ञानिक रुपमा संरक्षण र व्यवस्थापन गर्नु आवश्यक छ” कृषि विज्ञ कैलाशप्रसाद भूँडेरले भन्नुभयो । कृषि र वनयोग्य भूमिको वैज्ञानिक र दिगो उपयोगका लागि नयाँ भूउपयोग नीति ल्याउनेतर्फ राज्य सम्वेदनशील हुनुपर्ने उहाँको भनाइ छ । वन क्षेत्रको नक्साङ्कन, अतिक्रमण गरेर बसेका वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरुलाई त्यहाँबाट हटाइ उचितस्थानमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । चुरे क्षेत्रको संरक्षण गरिएन भने एक दशकभित्रमा तराई–मधेसका कृषियोग्य उर्वरभूमि विनाश भई मरुभूमिकरणतर्फ उन्मुख हुने भूँडेरले चिन्ता व्यक्त गर्नुभयो । 

वातावरण पत्रकार चन्द्रकिशोर झाले सबै सरोकारवालाबीच समन्वय, सक्रिय सहयोग र दरिलो एकता भएमा वन विनाश रोक्न सकिने बताउँदै यसका लागि जनजागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । वनस्पति विज्ञानका प्रा डा प्रमोद कुशवाहाले वन क्षेत्रको दिगो व्यवस्थापनका लागि राज्यले समय सापेक्ष दरिलो नीति ल्याई त्यसको पूर्ण इमान्दारिता र जवाफदेहिताकासाथ व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । 

सवल र समृद्ध नयाँ नेपाल निर्माण गर्ने हो भने वन क्षेत्रको दिगो र वैज्ञानिक व्यवस्थापन गर्नेपर्ने स्थानीय वुद्धिजीवी हरिहर यादव बताउनुहुन्छ । “संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई अझ बढी व्यवस्थित, प्रभावकारी र पारदर्शी ढङ्गले अभियानकै रुपमा लागू गर्नुपर्छ” उहाँले भन्नुभयो । रासस 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411