​खण्डहर बन्यो निर्माणाधिन जनजाति सङ्ग्रहालय भवन

बिहीवार, माघ १४, २०७२ साल,
खोटाङ । राजनीतिक दल संलग्न भवन निर्माण उपभोक्ता समितिले अनियमितता गरेपछि खोटाङको दिक्तेलस्थित अल्छेढुङ्गामा निर्माणाधिन आदिवासी जनजाति सङ्ग्रहालय भवन खण्डहर बनेको छ । 

पाँच वर्षअघि निर्माण कार्य सुरु गरिएको भवनमा दल संलग्न समितिले अनियमितता गरेपछि निर्माणाधिन सङ्ग्रहालय भवन खण्डहर बनेको हो ।
भवन निर्माण उपभोक्ता समितिकै अध्यक्षको संलग्नतामा रकम अनियमितता भएपछि कारबाहीको माग गर्दै अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेकाले थप रकम छुट्याउन नमिल्दा भवन नबन्ने निश्चित भएको छ । 

सङ्ग्रहालय भवन निर्माणमा किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै उपभोक्ता समितिका कोषाध्यक्ष रामकुमारी राईले उजुरी दिनुभएको हो ।

कोषाध्यक्ष राईले चारवर्षअघि निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, काम गर्ने व्यक्तिद्वय विष्णुराज राई र भक्तकर्ण राईले किर्ते हस्ताक्षर गरी रकम निकासा गरेको भन्दै अख्तियारमा उजुरी दिनुभएको थियो । 
उनीहरूमध्ये जयबहादुर राई र भक्तकर्ण राईको मृत्यु भइसकेको छ । सङ्ग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम किर्तेगरी पटकपटक गरी रु १३ लाख ८३ हजार निकासा गरिएको कोषाध्यक्ष राईले बताउँदै आउनुभएको छ । 

गुणस्तरहीन भवन बनेकाले आफूले रकम निकासा गर्न हस्ताक्षर नगरेको तर किर्ते गरेर रकम निकासा गरिएकाले उजुरी दिन बाध्य भएको कोषाध्यक्ष राईको भनाइ छ । 

बैंकको स्टेटमेन्टमा २०६७ साउन ३१ गते रु दुई लाख ५० हजार, असोज २१ गते रु तीन लाख, चैत १ गते रु एक लाख ८० हजार र २० गते रु ८३ हजार निकासा गरिएको छ । भवन नबन्ने निश्चित भएपछि उपभोक्ता समितिको चौतर्फी आलोचना भएको छ । 

निर्माणाधिन सङ्ग्रहालयमा जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिहरुको पूर्खाहरुले आदिमकालमा प्रयोग गरेका, चलाएका, लगाएका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजालगायतका सामग्री राख्ने लक्ष्य राखिएको थियो । जिल्लामै पहिलो पटक स्थापना गर्न लागिएको सङ्ग्रहालय भवन नबन्ने निश्चित भएपछि उक्त योजना असफल भएको छ । रासस 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411