​खस’ भाषासँग सम्बन्धित शब्दकोष ‘खसिया आखर’ निर्माण गर्दै आचार्य

बुद्धबार, माघ १३, २०७२ साल,
जुम्ला । कर्णालीका ज्येष्ठ पत्रकार तथा संस्कृतिविद् रमानन्द आचार्य यस क्षेत्रमा बोलिने ‘खस’ भाषासँग सम्बन्धित शब्दकोष निर्माणमा लामो समयदेखि जुट्नुभएको छ । 

विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान बिलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न ‘खसिया आखर’ शब्दकोष निर्माण गर्न थालिएको हो । कर्णालीका झर्रा खस शब्दमात्र समेटिने यो शब्दकोष एक हजार पृष्ठको हुने संस्कृतिविद् आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शब्दकोष निर्माण गर्न थालेको झन्डै सात वर्ष पुगेको छ । 

विसं २०६५ मा तत्कालीन जिविस जुम्लाका स्थानीय विकास अधिकारी तिलक पौडेलसँगको समन्वयमा यो शब्दकोष निर्माण कार्य सुरु गरियो । पुनः अर्का स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेले सहायता गरेअनुरुप तयारी कार्य निरन्तर अघि बढिरहेको छ, संस्कृतिविद् आचार्यले भन्नुभयो । शब्द सङ्कलन तथा सम्पादनको पूर्ण जिम्मेवारी भने आचार्यले लिनुभएको छ । 

शब्दकोषमा तत्कालीन खस राज्यभित्र र त्यस वरपर बोलिने भाषामा प्रयोग हुने शब्दहरु रहनेछन् । यी शब्द सङ्कलनका लागि आचार्य डोल्पाको तलिभोटान, कालिकोटको रासकोट भेक, मुगु तथा हुम्लामा आफू पुग्ने जनाउनुभयो । यो निर्माणका निम्ति गणेश चौलागार्इं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागार्इंसहितको पाँच सदस्यीय टोली खटिए पनि अहिले आचार्य एक्लै दैनिक रुपमा लाग्नुभएको छ । 

पुराना खस शब्द सङ्कलनमा भने सिंजाका स्थानीय संस्कृतिसम्बन्धी जानकार तुङ्गानाथ उपाध्यायले सहयोग गर्दै आउनुभएको छ । खस शब्द सङ्कलनका लागि जुम्लाका सिंजा, पाँचसय, चौधबीस र असी भेकलाई केन्द्रबिन्दु बनाइएको छ । 
साथै, यसको तयारी गर्न बृहत् शब्दकोष, डोट्याली शब्दकोष र रत्नाकर देवकोटाद्वारा लिखित ‘कर्णालीका रीतिथिति’ नामक पुस्तक सन्दर्भसामग्रीका रुपमा प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार हालसम्म १६ हजार शब्द सङ्कलन गरिएका छन् । शब्दकोष निर्माण गर्न अझै तीन वर्ष लाग्ने जनाइएको छ । यसका लागि भने जिल्ला विकास समिति जुम्लासँग त्रिवर्षीय कार्ययोजनासहित बजेट पेस गरेको आचार्यले बताउनुभयो । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411