​पाँच हजारलाई तालिम र रोजगारी दिन मेला

बुद्धबार, माघ ६, २०७२ साल,
काठमाडौं । यतिवेला भृकुटिमण्डपमा हजारौँ बरोजगार युवाको ताँती छ भने तालिम दिनका लागि ६५ वटा विभिन्न क्षेत्रसँग सम्बन्धित संस्थाहरू स्टल राखेर बसेका छन् । 

पाँच हजारभन्दा बढी युवाले निस्शुल्क तालिम पाउने र रोजगारीको समेत सुनिश्चितता पाउनेछन् । मंगलबारबाट सुरु भएको सीप तथा वृत्ति परामर्श मेला तीन दिनसम्म चल्नेछ ।

विश्वबैंकको सहयोगमा शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ९इभेन्ट०ले तीन महिना निस्शुल्क रूपमा तालिमका उपलब्ध गराउनुका साथै तालिम दिने संस्थाहरूले रोजगारीसमेत दिने भएकाले हजारौँ युवाको भीड लागेको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको इभेन्ट परियोजनाले निस्शुल्क तालिम लिएर रोजगार बन्ने अवसर जुटाइदिएको छ । इभेन्ट परियोजनाले पाँच हजार तीन सय ४६ जनालाई भौचर वितरण तथा परामर्श सेवा दिँदै छ ।

भौचर लिएपछि युवाले मेला स्थलमा रहेका ६५ वटा स्टलबाट मन परेका विषय र तालिम दिने संस्था रोज्न सक्नेछन् । तालिममा १६ देखि ४० वर्ष उमेर समूहका पुरुष १६ देखि ४५ वर्ष उमेर समूहका महिला सहभागी हुन पाउनेछन् ।

इभेन्ट परियोजनाका सूचना अधिकृत नेत्रनारायण पौडेलका अनुसार देशभरबाट १८ हजार युवाले छोटो अवधिका तालिमका लागि आवेदन भरेका थिए । तीमध्ये ८ हजार अन्तर्वार्तामा सहभागी भएका थिए । अन्तवार्तामा सहभागी भएकामध्ये पाँच हजार तीन सय ४६ जनालाई भौचर वितरण गरिँदै छ । भौचर पाउने युवाले ६५ वटा संस्थामध्ये आफूलाई चित्त बुझेका संस्थाबाट ३५ विषयमा तालिम लिन सक्नेछन् । भौचरप्राप्त युवालाई तालिम दिने संस्थाले १५ हजार रुपैयाँको हारहारीमा परियोजनाले भुक्तान गर्ने व्यवस्था छ ।

परियोजनाअन्तर्गत अहिलेसम्म १५ हजारभन्दा बढीले भौचर प्रणालीमा तालिम लिएका छन् । परियोजनाका अनुगमन अधिकृत प्रविन भट्टराईका अनुसार भौचर प्रणालीबाट तालिम लिएका ६६ प्रतिशतले रोजगारीसमेत पाएका छन् ।

परियोजनाअन्तर्गत जिल्लाहरूबाट पाइने नतिजामा आधारित तालिम ४० हजारभन्दा बढीले प्राप्त गरेका छन् । तीमध्ये ६६ प्रतिशत रोजगार भएका छन् । अनुगमन अधिकृत भट्टराईले भने, ‘छनोटमा परेका संस्थाहरूले तालिम दिन सक्छ कि सक्दैन र तालिम दिएपछि रोजगारी दिन सक्छ वा सक्दैन भन्ने कुराको समेत अनुगमन गर्छौं ।’साधारण लेखपढ गरेका, भूकम्पपीडितलगायतले तालिममा प्राथमिकता पाएका छन् ।

सीपमूलक तथा रोजगारउन्मुख जनशक्तिको आपूर्ति बढाउन गुणस्तरीय तालिमको पहुँच वृद्धि गर्न र नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम पद्धतिलाई सुदृढ बनाउनु रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411