सुन व्यवसायीको संघको सिफारिस विना, सुन सोझै व्यापारीलाई बिक्री गर्न पाइने

बुद्धबार, माघ १४, २०७१ साल,
 
काठमाडौं माघ १४ । सरकारले सुन तस्करी रोक्न नसकेपछि बैंकलाई राहत दिन राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको छ । बैंकको १५ दिनसम्म सुन खरिद नभए सोझै व्यवसायीलाई दिन सक्ने प्रावधान बनाइएको हो । कानुनी रूपमा वाणिज्य बैंकले मात्र सुन आयात गर्ने व्यवस्था छ । तर आयात भएको सुन बिक्री नभई थन्किन थालेपछि राष्ट्र बैंकले सोझै बिक्री गर्ने बाटो खोलिदिएको हो ।

यसअघि सुन व्यवसायीको संघको सिफारिसअनुसार मात्र वाणिज्य बैंकले बिक्री गर्दै आएका थिए । चीनबाट भन्सार छली ल्याइएको सुन बजारमा पर्याप्त पाइन थालेपछि बैंकबाट सुन बिक्री हुन छाडेको छ । गैरकानुनी सुन बैंकले बिक्री गर्नेभन्दा सस्तोमा पाएपछि व्यवसायीको रोजाइ फेरिएको हो । अर्कोतर्फ बैंकमा सुन थन्किने क्रमले बिक्री मूल्य पनि बढाउँदै लगेको छ । जसले बैंकको सुनलाई थप महँगो हुन सहयोग गरेको छ । 'व्यवसायीले सिफारिस नगरेका रहेछन् वा कार्टेलिङ भएको रहेछ भने नयाँ व्यवस्थापछि बैंकबाट सुन बिक्री हुन थाल्नेछ,' राष्ट्र बैंकका एक अधिकारीले भने ।

तीन महिनाभन्दा बढी समयदेखि सुन बैंकमै थन्किएर बसेको छ । ३ सय किलोभन्दा बढी सुन बिक्री नभई ढुकुटीमा रहेको बैंकर बताउँछन् । 'नयाँ व्यवस्थाले तत्काल काम नगरे पनि बजारमा तस्करीको सुन कम भएपछि राहत पुग्नेछ,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'संघले सिफारिस नगर्ने, आफ्नालाई बढी फाइदा दिनेलगायत काम रोकिने भयो ।'

चीनबाट भन्सार छलेर सुन ल्याउँदा एक किलोमा सोझै ५ लाख २० हजार रुपैयाँ न्यूनतम फाइदा हुने गरेको छ । फाइदा बढी भएपछि तस्करले बैंकको भन्दा कम मूल्यमा बजारभित्र उपलब्ध गराउने गरेका छन् । 'व्यापारीले भने थोरै बैंकबाट र धेरै तस्करबाट लिने क्रम बढेको छ,' ती बैंकरले भने ।

चीनबाट भन्सार छल्दै भारत पुर्‍याउँदा ठूलो फाइदा हुन थालेपछि सुन तस्करीमा ठूलै गिरोह लागेको अनुमान गरिन्छ । प्रहरीले हरेक महिना केही किलो अवैध सुन बरामद गरेपछि तस्करीको क्रम रोकिन सकेको छैन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411