​सिन्धुपाल्चोकमा ओगटेर राखेका ३३ विद्युत् आयोजना खारेज

मंगलवार, माघ १३, २०७१ साल,
चौतारा माघ १३ । झोलामा खोला ओगट्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लामा ३३ स्थानमा जलविद्युत् उत्पादनका लागि परेका निवेदनहरु रद्द गरिएका छन्। 

जिल्लाका विभिन्न नदीनालाबाट १०० देखि एक हजार किलोवाटसम्म विद्युत् उत्पादनका लागि परेका निवेदन प्रक्रिया नपुगेपछि विद्युत् विकास विभागले हालै खारेज गरेको हो। 

यसरी खारेजीमा परेका देशभरका कुल १७८ आयोजना रहेका छन्। जिल्लामा खारेजीमा परेका योजनाहरुमा जलविद्युत्को विषयमा सामान्य अनुभवसमेत नभएका र लगानी जुटाउनसमेत हम्मे पर्नेखालका देखिएका छन्। 

विगतका वर्षमा जिल्लाका विभिन्न नदीनाला ओगटेर बस्नेको सङ्ख्या ठूलै रहेको छ। विद्युत् उत्पादन गर्ने उद्देश्यभन्दा पनि पहुँचवाला र उनीहरुको अफन्तले लाइसेन्स लिई ओगटेर बसेका प्रशस्त उदाहरण छन्। 

कतिपयले रु ६० लाखदेखि रु एक करोडसम्ममा अन्यलाई बिक्री गरेको समेत पाइएको छ। पूजा चन्दको नाममा रहेको एक मेगावाटको हाँडीखोला र अमृत खड्काको नाममा रहेको २.५ मेगावाटको लिपिङखोला आयोजना अन्यलाई बिक्री गरेका थिए। 

करिब डेढ दशकअघि अनुमति प्राप्त २० मेगावाटको तल्लो वलेफी आयोजना लामो समयसम्म लगानी जुटाउन नसकी ओगटेरमात्र राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समय अघि खारेजी गरेको थियो। 

जिल्लाको भोटेकोसी, सुनकोसी, वलेफी र इन्द्रावती करिडोरबाट एक हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने सर्वेक्षणले देखाएको छ। सोमध्ये हाल जिल्लाबाट ६८ मेगावाट विद्युत् उत्पादन भएको छ भने २२.२ मेगावाटको तल्लो चाकुखोला ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ। 

त्यस्तै, सानाठूला गरी करिब आधा दर्जन आयोजना पनि निर्माणको चरणमा रहेको बताइएको छ। - रासस 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411