​‘२१ तलाको काठमाडौं भ्यु टावर’ तीन वर्षभित्र निर्माण हुने

आईतवार, माघ ११, २०७१ साल,
काठमाडौं माघ  ११ । विवादका कारण स्थगित हुँदै आएको पुरानो बसपार्कस्थित ‘काठमाडौं भ्यु टावर’ निर्माण योजना कार्यान्वयन हुने भएको छ । काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोइ कम्पनीबीच शनिबार भ्यु टावर निर्माणसम्बन्धी सम्झौता भएको हो । महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र भ्यु टावर निर्माण गरिसक्न ठेकेदार कम्पनी तयार भएको छ ।

महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले भ्यु टावर निर्माणसम्बन्धी सम्झौतापत्र शनिबार बिहान आदानप्रदान भएको बताए । उनले भने, ‘अबको तीन वर्षभित्र भ्यु टावर बनाउन सम्झौता भएको छ ।’ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठ र कम्पनीका प्रतिनिधिबीच सम्झौतापत्र आदानप्रदान भएको हो ।’

महानगरपालिकाले ‘पब्लिक प्राइभेट पार्टनरसिप’ प्रणालीअन्तर्गत कम्पनीलाई भ्यु टावर निर्माण गर्न अनुमति दिएको हो । सम्झौतापत्रअनुसार भ्यु टावर निर्माणको कुल लागत बजेट चार अर्ब रुपैयाँ हुनेछ । यसअघि टावर निर्माण लागत एक अर्ब ८० करोड रुपैयाँ भनिएको थियो । पछिल्लो दिनमा ‘भेलुएसन’ बढेपछि निर्माण लागत पनि बढेको महानगरपालिकाले जनाएको छ । निर्माणको सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्नेछ । त्यसबापत कम्पनीले ३० वर्षसम्म भ्यु टावर भोगचलन गर्न पाउनेछ । त्यपपछि भ्यु टावरको सम्पूर्ण स्वामित्व महानगरपालिकाको नाममा आउनेछ ।

महानगरपालिकाका अनुसार अबको ६ महिनाभित्र कम्पनीले ‘डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर)’ तयार गर्नेछ । यस अवधिमा कम्पनीले निर्माणस्थलको माटो र वातावरणीय पक्षको अध्ययन गर्नेछ । त्यसै आधारमा भ्यु टावरको तला निर्धारण हुनेछ । डिपिआर सकिएलगतै कम्पनीले निर्माणकार्य सुरु गर्नेछ । काफ्लेले भने, ‘६ महिनाभित्र डिपिआर ल्याउन भनेका छौँ । माटो र वातावरणीय पक्षको परीक्षणपछि भ्यु टावर कति तलाको बनाउने भन्ने निर्धारण हुनेछ । नक्सांकनको काम सकिएपछि कम्पनी निर्माणमा जुट्नेछ ।’

प्रारम्भिक प्रस्तावना तयार गरिएको चार वर्षपछि योजनाले साकार रूप लिएको हो । कम्पनीले बसपार्कमा टावर बनाउने प्रस्तावना ०६८ मै तयार गरेको थियो । ठेक्का सम्झौता प्रक्रियामा भ्रष्टाचार भएको आशंकापछि प्रस्तावना रोकिँदै आएको थियो । यही सन्दर्भमा परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिइसकेको छ । पछिल्लोपटक संसद्को लेखा समितिमा समेत उजुरी परेको छ ।

सूचना अधिकृत काफ्लेले अब काम नरोकिने बताए । उनले भने, ‘अब काम रोकिँदैन । लेखा समितिमा पनि हामी पुग्छौँ । सम्झौता भएको कागजपत्र बुझ्छौँ र बुझाउँछौँ । अख्तियारले त सफाइ दिइसकेको छ ।’

कम्पनीले नयाँ बसपार्कको २३ रोपनी ५ आना जग्गामा भ्यु टावर निर्माण गर्नेछ । प्रारम्भिक प्रस्तावनाअनुसार कम्पनीले २१ तलाको भ्यु टावर निर्माण गर्नेछ । त्यसमध्ये दुई तला भूमिगत हुनेछ । त्यसमा व्यवस्थित पार्किङ हुनेछ । त्यसभन्दा माथि बसपार्क हुनेछ । मोटरसाइकल पार्किङ पनि त्यसै भागमा रहनेछ । महानगरपालिकाका अनुसार निर्माण हुने पार्किङ क्षेत्रले रत्नपार्क र न्युरोड आसपास पार्किङ हुने सम्पूर्ण सवारीसाधनलाई धान्नेछ ।

टावरको माथिल्ला तलामा बैंक, सपिङ कम्प्लेक्स, सोरुम, सिनेमा हल, डिस्को, रेस्टुरेन्ट, जिम हल, स्विमिङपुलदेखि फाइभस्टार होटलसमेत निर्माण गरिनेछ । दक्षिण एसियाकै नमुनाको रूपमा बनाइने दाबी गरिएको टावरभित्रका सम्पूर्ण सुविधा चौबिसै घन्टा खुला हुनेछन् ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411