​पहिलो पटक प्रहरी कर्मचारीको जीवन बिमा, मासिक २०० रुपैयाँ तलबबाट काटिने

बुद्धबार, मंसिर २३, २०७२ साल,
काठमाडौँ । नेपाल प्रहरीको छ दशक लामो इतिहासमा पहिलोपटक प्रहरी कर्मचारीका लागि एक लाख रुपैयाँको जीवन बीमाको व्यवस्था गरिएको छ ।

सरकारले गत कात्तिक २३ गते प्रहरीलाई एक लाखको जीवन बीमाको व्यवस्था गर्ने निर्णय गरेसँगै सोहीबमोजिम प्रहरी नियमावलीमा त्यसको व्यवस्था गर्न लागेको हो ।

मन्त्रिपरिषद्ले गरेको यो निर्णयअनुसार बीमाका लागि प्रत्येक प्रहरीको मासिक तलबबाट २०० रुपैयाँ कट्टा गरिने छ र सरकारका तर्फबाट थप २०० गरी कोषमा जम्मा गरिने प्रहरी प्रवक्तासमेत रहनुभएका प्रहरी नायब निरीक्षक कमलसिंह बमले जानकारी दिए ।

जीवन बीमा कार्यक्रमअन्तर्गत जम्मा भएको रकम सहभागी प्रहरी कर्मचारीलाई सेवाबाट निवृत भएमा र प्रहरी कर्मचारीको मृत्यु भएमा भुक्तानी दिइने व्यवस्था गर्न नियमावली संशोधनका लागि पठाइसकेको बमले बताए । यो कार्यक्रम चालु आर्थिक वर्षबाट लागू हुने छ ।

कोषमा रकम कट्टा गर्न सुरु गरेको २० वर्ष अवधि नपुगी कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको परिवारले एक लाख बीमा रकम पाउनेछ । कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारी सेवाबाट अवकाश भएमा भने रकम कट्टी गरेको वर्षका आधारमा १० हजारदेखि एक लाखसम्म भुक्तानी पाउने व्यवस्था रहेको छ ।

त्यस्तै प्रहरी कर्मचारीले जम्मा गरेको कोषको वार्षिक प्रतिफल भने आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिने छ ।
 
यसअघि प्रहरीको कल्याणकारी महाशाखाले २०६९ सालदेखि प्रहरी कर्मचारीका लागि आफैँ विशेष कल्याणकारी योजनाअन्तर्गत सोही प्रकृतिको व्यवस्था गर्दै आएको छ । सो योजनाअनुसार प्रत्येक कर्मचारीको तलबबाट प्रति महिना रु २५० जम्मा गर्ने र कार्यकालभर मृत्यु भएमा तीन लाखको बीमा रकम दिने तथा अवकाश हुँदा ब्याजसहितको रकम पाउने व्यवस्था छ ।

कल्याणकारी योजनामा दर्जाअनुसार एक लाखदेखि दुई लाख ५० हजारसम्म सहुलियत ब्याजदरमा कर्जा र कडा प्रकृतिको रोग लागेका वहालवाला कर्मचारीलाई एक लाखसम्म उपचार सहयोग दिने व्यवस्था रहेको प्रवक्ता बमले बताए ।

यसबाहेक प्रहरीको कल्याणकारी कार्यका लागि संयुक्त राष्ट्र सङ्घको विश्व शान्ति कार्यमा खटिने प्रहरीको पारिश्रमिकबाट जम्मा हुने ‘नेपाल प्रहरी कल्याण कोष’समेत रहेको छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411