​शिखर इन्स्योरेन्सको सेयरका लागि साढे ४ अर्ब संकलन

मंगलवार, मंसिर २२, २०७२ साल,
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले खोलेको एफपीओको सेयर आवेदनबाट झण्डै साढे ४ अर्ब रुपैयाँ संकलन भएको छ। अत्याधिक मात्रामा सेयर माग भएपछि कम्पनीको सेयर आवेदन बन्द गरिएको छ। 
 
१६ हजार बढीको संख्याले सेयरमा आवेदन हालेको विक्री प्रबद्र्धक एनआईबीएल क्यापिटलले जनाएको छ। एनआईबीएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले साढे १३ गुणा बढी आवेदन परेको जानकारी दिए। यो तथ्याङमा सामान्य घटबढ हुन सक्ने भए पनि त्यति धेरैको अन्तर नहुने उनले बताए। 
 
पहिले नै जारी भइसकेको अर्थात साधारण सेयरको नयाँ निष्कासन (फर्दर पब्लिक अफरिङ) मार्फत कम्पनीले ५ लाख १० हजार ९ सय ८८ कित्ता सेयर सर्वसाधारणका लागि विक्री खुल्ला गरेको थियो। सेयर निस्कासन बन्द भएको मिति (मंसिर २१)ले ४५ दिनभित्रमा सेयर बाँडफाँट भइसक्ने प्रावधानअनुसार लगानीकर्तामाझ सेयर बाँडफाँट हुनेछ। 
 
कम्तीमा १० र बढीमा १ लाख कित्तासम्म सेयर खरिद गर्न सक्ने गरी सेयरमा प्रतिकित्ता साढे ५ सय रुपैयाँ प्रिमियम रकम थपेर सेयर मूल्य ६ सय ५० निर्धारण गरिएको थियो। प्रिमियमसहित ३३ करोड २१ लाख रुपैयाँको माग भएकोमा साढे ४ अर्बको आवेदन परेको हो। अधिकांशले १ सय कित्ताका लागि आवेदन दिएका छन्।  
 
शिखर इन्स्योरेन्स कम्पनीका महासचिव सुरज राजवहाकले शिखर इन्स्योरेन्सको प्रतिष्ठाकै कारण अपेक्षा गरिएभन्दा बढी सेयर आवेदन परेको बताए। ‘१० गुणा बढी सेयर आवेदन पर्ने अपेक्षा त थियो नै तर त्यो भन्दा पनि धेरै हुन गयो’ उनले सेतोपाटीलाई भने। 
 
त्यसका अलवा तरलता बढी हुँदा बैंकको व्याज कम हुनु र लगानीको अवसर कम भएकाले पनि लगानीकर्ताहरुको सेयरमा आकर्षण बढेको उनले बताए। पुस १५ गतेभित्रै सेयर बाँडफाँट हुने उनले जानकारी दिए। 
 
कम्पनीको हाल ३५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ। एफपीओबाट सेयर विक्री गरेपछि चुक्ता पुँजी ४० करोड ७६ लाख रुपैयाँ पुग्नेछ। जगेडा कोषमा ११ करोड ५५ लाख रुपैयाँ रहेको छ। गत वर्ष कम्पनीको आम्दानी प्रतिसेयर ६९ रुपैयाँ थियो। पछिल्लो पटक नेप्सेमा शिखर इन्स्योरेन्सको प्रतिकित्ता ९ सय ४० रुपैयाँमा सेयर कारोवार भएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411