
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म बैंकिङ कसुरमा संलग्न भएको अभियोगमा ९९ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीका अनुसार राष्ट्र बैंकको पत्रका आधारमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतमा गरी २८ संस्था घोटाला प्रकरणमा संलग्न भएको अभियोगमा ती व्यक्तिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा छवटा वाणिज्य बैंक, छवटा विकास बैंक र बाँकी फाइनान्स कम्पनीसँग सम्बन्धित बैंकिङ कसुरका अभियुक्तहरु रहेका छन् । पक्राउ परेका ९९ जना व्यक्तिहरुबाट हालसम्म १९ अर्ब ३५ करोड ५५ लाख ४१ हजार तीन सय ४२ रुपैयाँ सात पैसा बिगो रकम हालसम्म मागदाबी लिएको सीआईबीले जनाएको छ ।
यो रकममा तत्कालीन वैभव फाइनान्सको बिगो रकम तत्कालीन एचएण्डबी बैंकमा समावेश रहेकोले उल्लेख छैन’, सीआईबी प्रमुख ठकुरीले भने । सीआईबीका अनुसार यसरी लिएको बिगोमध्ये सबै ठूलो परिमाणको बिगो क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको रहेको छ ।
उक्त फाइनान्स घोटाला प्रकरणमा हालसम्म आठ जना पक्राउ परेकोमा सात अर्ब ७३ करोड ५७ लाख ४५ हजार सात सय पाँच रुपैयाँ बिगो रहेको छ । बिगो रकम ठूलो हुनेमा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी पनि परेको छ । उक्त फाइनान्स घोटाला प्रकरणमा हालसम्म तीन जना व्यक्ति पक्राउ परेकोमा पाँच अर्ब ७९ करोड दुई लाख ४४ हजार तीन सय ३५ रुपैयाँ ५५ पैसा बिगो लिएको छ ।
एचएण्डबी बैंक घोटाला प्रकरणमा पनि हालसम्म ११ जनालाई पक्राउ गरिएकोमा एक अर्ब पाँच करोड ३३ लाख ३७ हजार रुपैयाँ बिगो रकम मागदाबी लिइएको सीआईबीले जनाएको छ ।
यसबाहेक गोर्खा विकास बैंकमा तीन जना पक्राउ गरेकोमा ८६ करोड ७३ लाख १६ हजार सात सय ७८, जनरल फाइनान्स घोटाला प्रकरणमा दुई जना पक्राउ गरेकोमा १३ करोड ९९ लाख ४९ हजार आठ सय ८८ रुपैयाँ २० पैसा, नेपाल विकास बैंकमा एक जना पक्राउ परेकोमा ३६ करोड पाँच लाख ७० हजार दुई सय ७३ रुपैयाँ ३१ पैसा, सम्झना फाइनान्समा घोटाला प्रकरणमा दुई जना पक्राउ गरेकोमा छ करोड २८ लाख ९२ हजार नौ सय ५९ रुपैयाँ ७० पैसा, प्रोग्रेसिभ फाइनान्स प्रकरणमा एक जना पक्राउ परेकोमा सात करोड ६९ लाख १३ हजार रुपैयाँ बिगो रकम हालसम्म मागदाबी लिइएको छ ।
युनाइटेड विकास बैंक प्रकरणमा दुई जना पक्राउ परेकोमा नौ करोड २४ लाख ३८ हजार दुई सय छ रुपैयाँ ५० पैसा, क्रिष्टल फाइनान्समा एक जना पक्राउ परेकोमा ४४ करोड ६१ लाख ९१हजार रुपैयाँ, तत्कालीन श्रीलंकन मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स प्रकरणमा तीन जना पक्राउ परेकोमा दुई करोड ९२ लाख ७० हजार नौ सय ५३ रुपैयाँ ५६ पैसा, हिमालयन फाइनान्स प्रकरणमा तीन जना पक्राउ परेकोमा ५३ करोड छ लाख ६८ हजार रुपैयाँ, सिद्धार्थ डेभलपमेन्ट बैंक प्रकरणमा आठ जना पक्राउ परेकोमा २५ करोड २८ लाख ७४ हजार एक सय ९२ रुपैयाँ ३७ पैसा बिगो रकम हालसम्म मागदाबी लिएको छ ।
सीआईबीका अनुसार तत्कालीन किष्ट बैंक घोटाला प्रकरणमा तीन जना पक्राउ परेकोमा १५ करोड १६ लाख ९४ हजार दुई सय ८४ रुपैयाँ १७ पैसा, एनआईडीसी क्यापिटल मार्केट्स प्रकरणमा छ जना पक्राउ परेकोमा १३ करोड १७ लाख ३१ हजार तीन सय ९८ रुपैयाँ तीन पैसा, नेपाल बंगलादेश बैंक घोटाला प्रकरणमा दुई जना पक्राउ परेकोमा दुई करोड ९२ लाख ७० हजार नौ सय ९३ रुपैयाँ, हामा मर्चेन्ट एण्ड फाइनान्स प्रकरणमा पाँच जना पक्राउ परेकोमा सात करोड ६० लाख ९९ हजार २२ रुपैयाँ ५२ पैसा, सिभिल बैंक घोटाला प्रकरणमा तीन जना पक्राउ परेकोमा एक करोड २३ लाख नौ हजार तीन सय ३५ रुपैयाँ ५८ पैसा, तत्कालीन बुटवल फाइनान्स घोटाला प्रकरणमा दुई जना पक्राउ परेकोमा २७ करोड २६ लाख ८१ हजार ७७ रुपैयाँ ८७ पैसा, पिपुल्स फाइनान्स घोटाला प्रकरणमा एक जना पक्राउ परेकोमा ७३ करोड ९२ लाख ८१ हजार नौ सय ५३ रुपैयाँ ६४ पैसा, एनआईडीसी क्यापिटल मार्केट्स घोटाला प्रकरणमा नै पाँच जना पक्राउ परेकोमा चार करोड ७८ लाख ६३ हजार तीन सय १५ रुपैयाँ पाँच पैसा, कृषि विकास बैंक लगनखेल शाखा घोटाला प्रकरणमा छ जना पक्राउ परेकोमा १० करोड ६२ लाख ५६ हजार चार सय पाँच रुपैयाँ, कृषि विकास बैंककै स्वयम्भू शाखाको भएको घोटाला प्रकरणमा नौ जना पक्राउ परेकोमा ३३ करोड ९३ लाख ३९ हजार आठ सय ७२ रुपैयाँ ७१ पैसा, एभरेष्ट बैंक घोटाला प्रकरणमा दुई जना पक्राउ परेकोमा १९ लाख ५० हजार रुपैयाँ र ग्लोबल आईएमई बैंक घोटाला प्रकरणमा दुई जना पक्राउ परेकोमा ८६ लाख ७० हजार पाँच सय ३७ रुपैयाँ ८१ पैसा बिगो रकम हालसम्म मागदाबी लिइएको छ । बैंकिङ कसुरको अभियोगमा नारायणी डेभलपमेन्ट घोटाला प्रकरणमा दुई जना प्रुडेन्सीयल फाइनान्स प्रकरणमा दुई जनालाई पक्राउ गरे पनि उनीहरुमाथि अनुसन्धान प्रक्रिया जारी रहेको बिगो रकम उल्लेख नभएको सीआईबीले जनाएको छ । कारबाहीमा परेका संस्थाहरुमध्ये नेपाल विकास बैंक, सम्झना फाइनान्स र हिमालय फाइनान्स भने लिक्वीडेसनमा गइसकेका छन् । आर्थिक दैनिक