म्याच फिक्सिङमा एन्फा पदाधिकारीदेखि बैंकरसम्म

शुक्रबार, असोज २९, २०७२ साल,
काठमाडौं । फुटबल खेलको म्याच फिक्सिङमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीदेखि बैंकका उच्च अधिकारीसमेत संलग्न रहेको तथ्य खुलेको छ । म्याच फिक्सिङ गरेको अभियोगमा पक्राउ परेका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा र प्रशिक्षक अन्जन केसीसहित सबै अभियुक्तको बयान र उनीहरूले प्राप्त गरेको रकमका आधारमा सो तथ्य खुलेको हो ।

स्रोतका अनुसार पक्राउ परेका खेलाडीबाहेक म्याच फिक्सिङमा एन्फामा चार पदाधिकारी र एक बैंकका उच्च अधिकारी संलग्न छन् । महानगरीय प्रहरी अपराध महाशाखाले कप्तान थापा, प्रशिक्षक केसी, नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, राष्ट्रिय टिमका खेलाडी विकाश सिंह क्षेत्री र सन्दीप राईलाई बुधबार पक्राउ गरेको थियो ।

लामो अनुसन्धानपछि म्याच फिक्सिङमा संलग्न भएको प्रमाणसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउपछि प्रारम्भिक बयानकै क्रममा सबै अभियुक्तले आफ्नो अपराध स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले जानकारी दिए । अभियुक्तहरूको बयानकै क्रममा एन्फा पदाधिकारीदेखि बैंकमा काम गर्ने कर्मचारीसम्म म्याच फिक्सिङमा संलग्नता रहेको तथ्य खुलेको हो । 

एसएसपी खनालका अनुसार पक्राउ परेका खेलाडीहरूले सिंगापुरका म्याच फिक्सर टिटानी, विल्सन राज र मलेसियाका केसाभान पट्टानको सम्पर्कमा रही म्याच फिक्सिङ गर्दै आएको पाइएको छ । उनीहरू अन्तर्राष्ट्रिय (म्याच फिक्सर) सट्टेबाज हुन । ‘म्याच फिक्सिङमा एन्फा पदाधिकारीदेखि बैंकका उच्च अधिकारीसम्म रहेको पाइएको छ, थप अनुसन्धान भइरहेको छ, अनुसन्धानले फेला पर्ने तथ्यका आधारमा सबैलाई छानबिनको दायराभित्र ल्याइनेछ,’ एसएसपी खनालले भने । प्रहरीका अनुसार म्याच फिक्सिङका मुख्य योजनाकार प्रशिक्षक केसी हुन् । केसीले नै कप्तान थापालाई म्याच फिक्सिङमा योजनाकार बनाएपछि उनले अन्जाम दिने गरेका थिए ।

सन् २००८ देखि हालसम्मका सबै खेलमा केसी र थापाले डिल गरी म्याच फिक्सिङ गर्दै आएको बयानका क्रममा खुलेको एसएसपी खनालले जानकारी दिए । हालसम्मको अनुसन्धानबाट खुलेअनुसार अभियुक्तहरूले हरेक खेलमा प्रतिव्यक्ति ३ देखि ५ हजार अमेरिकी डलर लिने गरेका थिए ।

अभियुक्तहरूले नेपाल र अफगानिस्तानको खेलमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर लिएका थिए । यस्तै, मलेसिया विरुद्धको खेलमा ५ हजार, मन्डेगा कपमा पनि ५ हजार अमेरिकी डलर लिएको प्रहरीले जनाएको छ । मन्डेगा कपमा २ गोलको बराबरी खेल्ने गरी प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर लिएको पाइएको छ । यस्तै, २००९ को साफ च्याम्पियनसिपमा प्रतिव्यक्ति ३ हजार ६१ अमेरिकी डलर लिएको पाइएको छ । अभियुक्तहरूले गोलसमेत तोकेरै म्याच फिक्सिङ गर्ने गरेको पाइएको छ । ‘नेपालले क्यामरुनसँगको खेलमा ४ गोल खाने गरी म्याच फिक्सिङ भएकोमा ५ गोल खाएपछि प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर दिने भनिएकोमा कसैलाई नदिएको पाइयो,’ एसएसपी खनालले भने ।

म्याच फिक्सिङ गराउने सट्टेबाजले खेलाडीका लागि आवश्यक सबै मनोरञ्जन सेवासमेत उपलब्ध गराउने गरेको अनुसन्धानबाट देखिएको छ । ‘कोरियामा भएको अन्डर २३ खेलमा कप्तान थापासहित टिममा परेका सिनियर खेलाडी, खेल हुने अघिल्लो रात १२ बजेसम्म मनोरञ्जनमा रहेका थिए,’ खनालले भने ।

फिफा नियमअनुसार अन्डर २३ मा पनि ३ खेलाडी सिनियर टिमबाट राख्न पाइन्छ । सो खेलसमेत मिलेमतोका लागि कप्तान थापालाई नै पठाउने गरिएको थियो भने सन् २०१३ बाट प्रशिक्षक नरहे पनि केसीलाई पठाउने गरिएको थियो । म्याच फिक्सिङकै लागि एन्फा पदाधिकारीले उनीहरूलाई सेट गराउने गरेको अनुसन्धानबाट खुलेको छ । ‘राष्ट्रिय टिमको कप्तानलाई नै किन पठाउने भन्ने प्रश्न थियो, म्याच फिक्सिङका लागि रहेछ,’ खनालले भने । प्रहरीका अनुसार फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, जोर्डन, इराक, कुवेत, अफगानिस्तान, क्यामरुन लगायतका देशसँगको खेलमा म्याच फिक्सिङ गरेको पाइएको छ ।

यस्तै, प्यालेस्टाइन र साउदी अरेबिया सँगको खेलमा पनि मिलेमतो भएको सूचना आएको एसएसपी खनालले जानकारी दिए ।‘अहिलेसम्म कम्तीमा पनि आठ ओटा खेलमा म्याच फिक्सिङ भएको पाइएको छ, अरू पनि सूचना आइरहेकाले अनुसन्धान पूरा भएपछि यकिन तथ्यांक आउँछ,’ खनालले भने ।

प्रहरीका अनुसार अभियुक्तहरूले वेस्टर्न युनियन मनी ट्रान्सफर, साइबर मनी ट्रान्सफर, सोसाइटी ट्राभल्स, सीसी फिन्को, राई बुक एन्ड स्टेसनरीबाट रकम बुझेको पाइएको छ ।

‘अहिलेसम्म यिनै संस्थाबाट म्याच फिक्सिङको रकम आउने गरेको पाइएको छ, यसमा संलग्न बैंकरबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी खनालले भने । प्रहरीले पक्राउ परेका पाँचै जनालाई राज्य विरुद्धको अपराध र संगठित रूपमा आर्थिक अपराधमा मुद्दा चलाएको छ ।

अपराध महाशाखाले अभियुक्तहरूलाई थप अनुसन्धान गरी कारबाहीका लागि बिहीबार नै महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ ।स्रोतःराजधानी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411