राष्ट्रवादी’ छवि बनाएका परराष्ट्रमन्त्री थापाले ‘नाकाबन्दी’ भन्न मानेनन्, भारतलाई शंकाको सुविधा दिनुपर्छ

बिहीवार, असोज २८, २०७२ साल,
काठमाडौं । ‘राष्ट्रवादी’ छवि बनाएको ओली सरकारका परराष्ट्रमन्त्री कमल थापाले छिमेकी भारतले नाकाबन्दी गरेको भन्न अस्वीकार गरेका छन् । उनले वीरगञ्ज बाहेकका सीमा नाकामा सहजता देखिएको भन्दै भारतलाई ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिने बताए ।

आफ्नो भारत भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यातायात पारवहन क्षेत्रमा भएको असहज परिस्थिति र मधेस केन्द्रित दलको आन्दोलनका कारण इन्धनको अभाव भएको बताए । तर, उनले नाकाबन्दी भन्न अस्वीकार गरे ।

यसअघि सुशील कोइराला सरकारले पनि नाकाबन्दी भन्न र त्यसलाई अन्तराष्ट्रीयकरण गर्न सकेको थिएन । जसको चौतर्फी आलोचना भएको थियो ।

भारतले नाकाबन्दी गरेको हो कि होइन रु नाकाबन्दी हो भने सरकारले अन्तराष्ट्रीयकरण गर्छ कि गर्दैन भन्ने पत्रकारहरुको प्रश्नमा परराष्ट्रमन्त्री थापाले प्रष्ट जवाफ दिएनन् ।

उनले वीरगञ्ज बाहेकका नाकामा खुकुलो भएको तर, आयातमा निरन्तरता नभएको बताए । रक्सौल बाहेक अन्य नाकाहरुमा खुकुलो रहेको भन्दै थापाले भने( ‘तर, पर्याप्त बुलेट, ट्यांकरहरुको अभाव छ, लोड(अनलोडका पनि केही समस्या देखा परेका छन् । त्यसले पनि हुन सक्छ, त्यसैले अहिले केही आशंका नगरी बेनिफिट अफ डाउट दिएर हेरौं न ।’

तर, प्रधानमन्त्री ओलीले विहीबार अपरान्ह व्यवस्थापिका संसदमा सम्बोधन गर्ने क्रममा भने ‘अघोषित नाकाबन्दीप्रति हामी गम्भीर छौं’ भन्दै नाकाबन्दी शब्दको उच्चारण गरेका छन् । भूपरिवेष्ठित राष्ट्रको अधिकार सुनिश्चित हुनुपर्ने प्रधानमन्त्रीले बताए ।

परराष्ट्रमन्त्री शनिबार भारत जाने

परराष्ट्रमन्त्री थापा नेतृत्वको उच्चस्तरीय टोली शनिबार भारत जाने कार्यक्रम छ । भारतीय समकक्षी सुष्मा स्वराजको निम्तोमा दिल्ली जान लागेका थापाले गर्ने अन्य राजनीतिक भेटबारे अहिले केही खुलाइएको छैन ।

थापाको दिल्ली भ्रमणबारे एमाले स्थायी कमिटीको बैठकमा जानकारी दिँदै विहीबार प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्रीलाई आपूर्तिको वातावरण सहज बनाउन दिल्ली पठाउन लागिएको बताए ।

मन्त्री थापाले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिल्ली भ्रमणबारे जानकारी दिँदै भारतीय विदेशमन्त्री स्वराजसँगको भेटका लागि आफू उत्सुक रहेको पत्रकार सम्मेलनमा बताए । उनले भने( दुई देशका सम्वन्धका विविध पक्षमा कुरा हुुन्छ, त्यस क्रममा आपूर्ति समस्या समाधान गर्न भारत सरकारसँग सहयोग खोज्छौं ।’

ओली सरकारले भारत सरकारसँग अहिले देखिएको तिक्तता अस्थायी भएको बताएको छ । साथै तराई मधेसमा भइरहेको आन्दोलनलाई राजनीतिक समस्याको रुपमा लिएर समाधान खोज्ने समेत बताएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411