​रसुवागढी नाका खुल्यो, चिनियाँ सरकारका डेपुटी डाइरेक्टर जनरलले गरे नाका खुलेको घोषणा

बिहीवार, असोज २८, २०७२ साल,
धुन्चे । भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । केरुङतर्फ सडक मर्मत सम्पन्न गरी औपचारिक रुपमा चिनियाँ सरकारका तर्फबाट डेपुटी डाइरेक्टर जनरल माक्विन्सेङ्गले आज बिहान ९स्३० बजे नाका खोलेको घोषणा गरेको जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले दिए ।
 
छिमेकी भारततर्फको दक्षिणी नाकाबाट आउने इन्धनलगायत उपभोग्य वस्तु ल्याउन अघोषित नाकाबन्दी भइरहेको अवस्थामा चीन तर्फ उत्तरी नाका रसुवागढी खुल्दा स्थानीयवासीमाझ उमङ्ग छाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
 
रसुवागढी नाका खोलेको घोषणा गर्नुपूर्व चीन सरकारले दसैँका लागि नेपाललाई पठाएको छवटा ट्रकमा राखिएको ५० टन खाद्यान्न सीमा क्षेत्रमा आइसकेको परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराईले बताए । नेपाललाई सहयोग गरिने बडादसैँका लागि खाद्यान्न एक करोड ६० लाखबराबरको भएको बताइएको छ ।
 
यस्तै, नाका खुलेलगत्तै सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मले सीमा क्षेत्रमा आफ्नो पोस्ट खडा गरिसकेकाले सुरक्षा तथा राजस्व सङ्कलनमा कुनै कमी नआउने सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
 
औपचारिक नाका घोषणा कार्यक्रममा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति, परराष्ट्र, गृह र अर्थ मन्त्रालयका प्रतिनिधि, भन्सार विभागका प्रतिनिधि, रसुवाका प्रमूख जिल्ला अधिकारी शीवराम गेलाल, नेपाली सेनाका प्रमूख सेनानी विक्रम गुरुङ, नेपाल प्रहरीका नायव प्रहरी उपरीक्षक अवधेश विष्ट तथा अध्यागमनका अधिकारी एवम् चिनियाँतर्फबाट राजदूतावासका प्रतिनिधि, अध्यागमनलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुले बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411