​आफ्नै बाबुआमा र सासुससुराको हेरचाह गर्दा नगद पुरस्कार पाईने

शुक्रबार, कार्तिक १३, २०७२ साल,
इटहरी । सन्तान, धन–दौलत हुदाँहुदै पनि तिरस्कृत भएर जिन्दगी बिताइरहेका थुप्रै आमाबाबु भेटिन्छन्। यसरी समाजमा बढ्दो कुसंस्कारलाई रोक्न र आफ्ना बाबुआमालाई हेरचाह गर्नुपर्छ भनेर सन्देश फैलाउँन दिन इटहरीमा बुधबार चार जनालाई नगद पुरस्कार प्रदान गरिएको छ।

समाजमा बढ्दो कुसंस्कारलाई बेलैमा व्यवस्थित गरेर सकारात्मक सन्देश दिनका लागि इटहरी वडा–४ की संगीता ढुंगेल, वडा–७ की खेमकुमारी कार्की, वडा–२ की इन्दिरा अधिकारी र वडा–८ की पुष्पा श्रेष्ठलाई जनही तीन–तीन हजार नगदसहित पुरस्कार प्रदान गरिएको हो।

संगीतले ५९ वर्षीया सासु चुडादेवी ढुंगेल, कार्कीले ८७ वर्षीय ससुरा मानबहादुर कार्की, अधिकारीले ८७ वर्षीया सासु गंगामाया अधिकारी र श्रेष्ठले आफ्नै बाबु ९७ बर्षीय सुवर्णबहादुर श्रेष्ठलाई राम्रोसँग हेरचाह गरेकोमा पुरस्कार प्रदान गरिएको हो । चारै जनालाई जेष्ठ नागरिक समाज इटहरीले ३५ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उपमहानगरपालिकाको सहयोगमा नगद पुरस्कार प्रदान गरेको हो।

जेष्ठ नागरिक समाजले वर्षेनी समाजमा बढ्दो कुसंस्कारलाई तोड्नका लागि इटहरी उपमहानगरपालिका क्षेत्र भित्रका जेष्ठ नागरिकमध्ये राम्रोसँग हेरचाह गर्ने बुहारी, छोरा र छोरीलाई नगद पुरस्कार प्रदान गदैं आएको छ।

जन्म दिने बाबुआमालाई तिरस्कार गर्नुहुदैन, राम्रो गर्नुपर्छ भनेर सर्वत्र सन्देश थालिएको कार्यक्रमले गर्दा बाबुआमालाई राम्रोसँग स्याहार गर्नेको होडबाजी चल्न थालेको जेष्ठ नागरिक मुक्ति पोखरेलले बताए।

यसैक्रममा इटहरीकै जेष्ठ नागरिक एवं समाजसेवी राजेश श्रेष्ठले आफ्ना हजुरबुबा, बाबु र आमाको स्मृतिमा स्थापना गरेको अक्षय कोषमार्फत सुनसरीका पुराना पत्रकार याम प्रधान र जेष्ठ समाजसेवी अम्बरबहादुर कट्वाललाई पनि नगद पुरस्कार प्रदान गरिएको छ ।

पत्रकार प्रधान र कट्वाललाई जनही पाँच–पाँच हजार नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरियो। श्रेष्ठले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी बर्षेनी एक जना सिनियर पत्रकार र एक जना जेष्ठ समाजसेवीलाई पुरस्कार प्रदान गर्ने गरिएको छ।

सोही क्रममा इटहरी वडा–की १०३ वर्षीया सुभद्रा निरौला, वडा–४ का ८४ बर्षीय दलबहादुर विश्वकर्मा, वडा–३ की ९४ बर्षीया धनमाया भण्डारी, वडा–५ की ९० बर्षीय हरिषचन्द्र भेटवाल, वडा–८ की ८७ बर्षीय मनमाया श्रेष्ठ, वडा–४ का ९१ बर्षीय जीतबहादुर ढंगेल, ९० बर्षीया भद्रमाया कट्टेल र ८५ बर्षीया पुन्यकुमारी पोखरेललाई सम्मान गरियो । सम्मानित सबैलाई इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेष तिम्सिनाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411