७१ मुलुकका १५ सय प्रतिनिधिको उपस्थितिमा एनआरएनए सम्मेलन आजबाट

बुद्धबार, असोज २७, २०७२ साल,
काठमाडौं । नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीले जनजीवन अस्तव्यस्त भइरहे पनि गैरआवासीय नेपालीको सम्मेलनले भने रौनक बढाएको छ । आजदेखि सुरु हुने गैरआवासीय नेपाली संघ ९एनआरएनए०को सातौं अधिवेशन तथा विश्व सम्मेलनले संसारभरका नेपालीको ध्यान खिचेको छ ।

नयाँ संविधान निर्माणसँगै एनआरएन अभियान सुरु भएदेखिका एजेन्डा पूरा भएकाले यो सम्मेलनको विशेष अर्थ पनि छ । अर्कातर्फ सम्मेलनले २ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले सबैको ध्यान यतै छ ।

एनआरएनए सचिवालयका अनुसार सम्मेलनका लागि ७१ मुलुकबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् । सोही बराबर पर्यवेक्षक र शुभेच्छुक पनि आएको अनुमान छ । मुलुकका राजनीतिक दल, व्यावसायिक संघसंगठन र विभिन्न सामाजिक संस्थाले पनि सम्मेलनलाई प्राथमिकता दिइरहेका छन् ।

भूकम्पपछिको उद्धार र राहतमा संसारभरका एनआरएन स्वतःस्फूर्त रूपमा जुटेका कारण पनि पछिल्लो वर्ष एनआरएनलाई हेर्ने दृष्टिकोण बदलिएको छ । यो वर्ष सम्मेलनको नारा ‘एनआरएनए ः राष्ट्र पुनर्निर्माणको सच्चा साझेदार’ तय गरिएको छ । सम्मेलन भूकम्पपछिको पुनर्निर्माणमा एनआरएनको सहभागितामा केन्द्रित हुनेछ ।

“आगामी २ वर्ष हामी पुनर्निर्माणमा केन्द्रित हुनुपर्छ,” संघ अध्यक्ष शेष घलेले भने, “हामीले अधिवेशन र सम्मेलनबाट पैसा बचाएर पुनर्निर्माणमा लगाउने घोषणा गरेका छौं ।”

बुधबार र बिहीबार अधिवेशन तथा शुक्रबार र शनिबार विश्व सम्मेलन आयोजना हुनेछ । अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्नेछ । यसका लागि बुधबारदेखि नै चुनावी प्रक्रिया सुरु हुनेछ । विश्व सम्मेलन शनिबार राष्ट्रपति डा। रामवरण यादवले उद्घाटन गर्ने घलेले जानकारी दिए । सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनको संयुक्त पहलमा आयोजना हुन लागेको हो । सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्रीले गर्नेछन् ।

सकेसम्म कम खर्चमा सम्मेलन सम्पन्न गर्ने संघको तयारी छ । रजिस्ट्रेसन, प्रायोजकलगायतबाट करिब २ करोड रुपैयाँ आम्दानी हुने जानकारी दिँदै घलेले १ करोड रुपैयाँभन्दा बढी खर्च नगरिने बताए । “यसपटक महत्वाकांक्षी परियोजना घोषणा गरिँदैन,” उनले भने, “विगतका अनुभवले यो पाठ सिकाएको छ, जे–जति काम गर्न सकिन्छ, त्यतिमात्रै घोषणा गर्छौं ।” घोषणा भइसकेका परियोजनालाई निरन्तरता दिने र अधुरा काम सम्पन्न गर्ने घलेले बताए । पूरा गर्न नसकिने परियोजना घोषणा गर्दा त्यसको प्रतिफल नआउने उनको भनाइ छ ।

संघले भूकम्पबाट घरबारविहीन भएकालाई १ हजार घर निर्माण गरिदिने घोषणा गरेको छ । घर बनाउन सरकार र संघबीच हालै सम्झौता पनि भएको छ । आगामी २ वर्षभित्र सम्पूर्ण घर निर्माण गरेर हस्तान्तरण गरिसक्ने घलेले बताए । साथै, संघको आफ्नै भवन निर्माणमा पनि जोड दिइने उनको भनाइ छ ।

संविधानमा एनआरएनलाई विशेष नागरिकता दिने व्यवस्था गरिएकोमा एनआरएनहरू खुसी देखिन्छन् । “संविधानमा उल्लेख भएरमात्र हुँदैन, कार्यान्वयनका लागि कानुन चाहिन्छ, कानुन बनाउन अझै हामीले पहल गर्नुपर्ने देखिन्छ,” उनले भने, “नागरिकता पाए मुलुकमा ठूलो लगानीसमेत भित्रिनेछ ।”

दोहोरो नागरिकताले भिसा प्रक्रियामा समेत सहजता हुने हुँदा आवश्यक रहेको एनआरएनहरूले बताउँदै आएका छन् । अहिले आफ्नै मुलुकमा आउन पनि भिसाको झन्झट हुने गरेको गुनासो घलेले गरे । यद्यपि, राजनीतिक नियुक्तिमा अझै विभेद गरिएको भन्दै एनआरएनहरूले संविधानको प्रावधान खुकुलो बनाउन माग गर्दै आएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411