आन्तरिक राजस्व विभागले ४८ अर्ब बक्यौतामा ८ अर्ब उठायो

शुक्रबार, पौष २५, २०७१ साल,
काठमाडौ, पुस २५ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको ५ महिनामा राजस्वको ८ अर्ब रुपैयाँ बक्यौता उठाउन सफल भएको छ ।

विभागका महानिर्देशक चूडामणि शर्माका अनुसार गत आर्थिक वर्षको अन्त्यमा ४८ अर्ब रुपैयाँ बक्यौता थियो । जसमध्ये मूल्य अभिवृद्धि कर (भ्याट) को बक्यौता २८ अर्ब रुपैयाँ थियो । २० अर्ब आयकरअन्तर्गतको बक्यौता थियो । दुवैमा गरेर अब बक्यौता ४० अर्ब रुपैयाँमा झरेको छ, उच्चस्तरीय कर पुनरावलोकन आयोगको गतिविधिबारे जानकारी गराउन आयोजित एक कार्यक्रममा शर्माले भने, भ्याटमा अझै पनि प्राविधिक समस्या छ । बक्यौता घटाउने प्रयार गरिरहेका छौं ।

कर फछ्र्योट गर्न बाँकी व्यक्ति तथा प्रतिष्ठानको संख्या १ लाखभन्दा बढी छ । लामो समयदेखि विभिन्न कारणले ती व्यक्ति तथा प्रतिष्ठानले कर बक्यौता फछ्र्योट गरेका छैनन् । सरकारले उक्त रकम उठाउनका लागि विभिन्न विकल्प अपनाउँदै आएको छ । कर फछ्र्योट गर्नकै लागि फछ्र्योट आयोग गठन गर्न सरकारसँग निजी क्षेत्रले माग गर्दै आएको छ । फछ्र्योट आयोग समयको माग हो । यस विषयमा अर्थ मन्त्रालयले छलफल जारी राखेको छ, मन्त्रालयका राजस्व महाशाखाका प्रमुख राजन खनालले भने, विभिन्न कारणले घाटामा गएका, बन्द भएकोलगायतका समस्यामा परेका प्रतिष्ठानको विषयमा म्यान्डेड बनाएर काम गर्नुपर्छ । यसका लागि स्थायी प्रकृतिको संयन्त्र आवश्यक छ ।

कार्यक्रममा कर पुनरावलोकन आयोगका अध्यक्ष रूपबहादुर खड्काले कार्यक्षेत्र र नीतिगत सुधार गर्न सरकारलाई सिफारिसको तयारीका विषयमा जानकारी गराएका थिए । आयोगले कर नीति र संरचनाको अध्ययन गरी उपयुक्त र व्यावहारिक कर प्रणाली विकास गर्न आवश्यक सुझाव दिनेछ, उनले भने, कर प्रणालीलाई निजी क्षेत्रका लागि लगानीमैत्री बनाउन, करदाताको स्वैच्छिक सहभागिता बढाउन, सहभागिता लागत घटाउन, अन्तर्राष्ट्रिय मान्यताअनुकूल र तुलनायोग्य बनाउन गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पनि दिनेछ ।

मुलुक एकात्मक शासन व्यवस्थाबाट संघीय व्यवस्थामा रूपान्तरित हुने क्रममा रहेकाले कर सुधारको आवश्यकता रहेको खड्काको भनाइ थियो ।

मुलुकलाई सन् २०२२ मा अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति गरी विकासशील देशको सूचीमा पुर्‍याउने लक्ष्य राखेकाले पनि कर सुधारको आवश्यकता छ । आयोगलाई सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने समयसीमा चैतसम्मका लागि दिइएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411