​एनसेलको सेयर बेच्दै टेलियासोनेरा, नेपालबाटै फिर्ता जाने योजना

बिहीवार, भाद्र ३१, २०७२ साल,
काठमाडौं । नेपालको प्रमुख टेलिकम्युनिकेशन कम्पनी एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेराले नेपाल छाड्ने निर्णय गरेको छ । उसले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत हिस्सा बेचेर नेपाल छाड्ने निर्णयमा पुगेको हो । कम्पनीले २०१३ देखि युरोप र एसियाका देशहरुमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको थियो ।

टेलियासोनेराले विज्ञप्ति जारी गर्दै अब आफु युरोप र स्वीडेनमा मात्र केन्द्रित हुने भन्दै युरोसिया क्षेत्रका कम्पनीहरुबाट हात झिक्ने जनाएको हो । यस क्रममा टेलियासानेराले नेपाल सहित अन्य ७ मुलुकबाट बाहिरिने जनाएको हो । यस क्रममा उसले यस योजना अनुसार आफ्नो उपस्थिती कम गर्दै युरोप र स्वीडेनमा दरिलो उपस्थिती बजनाउने रणनीति अनुसार अघि बढ्न थालिसकेको छ ।

टेलियासोनेराको वेवसाइटमा उल्लेख भए अनुसार कम्पनीको बोर्ड बैठकले नेपालसहित काजकस्तान, उज्वेकिस्तान, अजरवैजान, जर्जिया, माल्डोभा र ताजकस्तानबाट आफ्नो लगानी फिर्ता लैजाने निर्णय गरेको हो ।

कम्पनीको यो निर्णय पछि अब एनसेलमा कसले लगानी गर्ला भन्ने कुरा चासोको विषय बनेको छ । विदेशी लगानीका एनसेल जस्तै कम्पनीहरु पब्लिक लिमिटेडमा रुपान्तरण हुने भन्ने बहस चल्दै गर्दा अब भने एनसेलले यो बाटो अपनाएर सर्वसाधारणमा शेयर बितरण गर्न सक्ने देखिएको छ ।

१० करोड रुपैंया चुक्ता पूँजी भएको कम्पनीले वार्षिक ५० अर्व रुपैंयाको हाराहारीमा कारोबार गर्दै आएको छ । यस क्रममा गत आर्थिक वर्षमा मात्र उसले ८ अर्व भन्दा बढी नाफा कमाएको थियो । लगानी बैधानिक स्रोतबाट नआएको र नाफा कमाइ रहस्यमय भएको भन्दै नेपाल राष्ट्र बैंकले टेलियासोनेरालाई १२ अर्व रुपैंया नेपालबाट बाहिर लैजानबाट रोक्का गरेको छ ।

मंगलबार प्रस्तुत गरिएको एक कार्यपत्रमा सानेराले यी मुलुकमा चाहना विपरितका विभिन्न समूहसँग सम्बन्ध स्थापना गर्नु परेको र ती देशबाट रकम लैजान समस्या परेको उल्लेख गरेको छ । एनसेलले आफ्नो कम्पनीमा ७० अर्ब रुपैंया भन्दा बढीको लगानी रहेको दावी गरे पनि त्यसको बैधानिक स्रात भने खुलाउन सकेको छैन । त्यस कम्पनीका नेपाली साझेदारको हैसियत पनि संकास्पद रहेको आरोप समय समयमा लाग्दै आएको छ ।

विगत ३ वर्षदेखि नेपालको सबैभन्दा ठूलो करदाताका रुपमा स्थापीत हुँदै आएको एनसेलले २०१४ सम्ममा कम्पनीले नेपालमा ५६ प्रतिशत बजार हिस्सा ओगटेको प्रतिवेदन टेलियासोनेरालाई पठाएको थियो ।

टेलियासोनेराका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जोहन डेनलिन्डले विज्ञप्ती मार्फत दुई वर्षे अवधिमा आफ्नो सेवा विस्तारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आफ्नो लक्ष्य पुरै क्षेत्रबाट बाहिरिने रहेको प्रष्ट पारेका छन् । टेलियासोनेराले ७ देशमध्ये सबैभन्दा धेरै नाफा नेपालबाट गर्दै आएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411