​पेट्रोलियमसँगै खाद्यान्‍नको आपूर्ति सहज गर्न निर्देशन

मंगलवार, भाद्र २२, २०७२ साल,
काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थसहित खाद्यान्नको सहज आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। 
 
समितिले बन्द र हडतालका कारण दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति नभएको भन्दै त्यसलाई सहज बनाउन, मूल्य र गुणस्तर नियन्त्रका लागि प्रभावकारी अनुगमन गर्न सरकारलाई निर्देशन दिएको हो। सोमबार बसेको बैठकले आयातित् वस्तुको भन्सारमै मूल्य र गुणस्तर निर्धारण गरी प्रभावकारी कार्यान्वयनका लागि समेत निर्देशन दिएको छ।
 
समितिका सभापति भिष्मराज आङदम्बेले खाना पकाउने ग्यास बिक्रेताको प्रमाणीकरण सम्बन्धमा पनि चासो राखेका थिए। बैठकमा उपस्थित आपूर्ति मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्याय, वाणिज्य विभागका महानिर्देशक शम्भुप्रसाद कोइराला र नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेका थिए। 
 
मन्त्रायलका सचिव उपाध्यायले पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य वस्तु कटिङमार्फत आपूर्ति भइरहेको जानकारी दिए। मन्त्रालयका सहसचिव शम्भु घिमिरेले नौ महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी र चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बैठकमा जानकारी गराए।
 
 निगमका कार्यकारी निर्देशक खड्काले निरन्तरको बन्द, हडतालका बाबजुद उपभोक्ताले पेट्रोलियम पदार्थ सहजरूपमा पाइरहेको बताए । निगमले पेट्रोलियम पदार्थ सामान्य अवस्थाभन्दा बढी आपूर्ति गर्दै आएको खड्काको दाबी छ।
 
साउनमा दैनिक तीन लाख १७ हजार किलोलिटर पेट्रोलियम आपूर्ति गरिएकोमा भदौमा तीन लाख ५१ हजार किलोलिटर आपूर्ति भइरहेको उनले बताए । बजारमा ग्यासको समस्या देखिए पनि भदौ महिनाका लागि १९ हजार मेट्रिक टन ग्यास भित्रिसकेको उनले जानकारी दिए। 
 
आइतबारमात्रै एक सय ६५ बुलेट ग्यास भित्रिएको छ।बैठकमा सुभाषचन्द्र ठकुरी, चन्द्र महर्जन, नागेन्द्रप्रसाद चौधरी, सिताराम भण्डारी, अनारकली मियाँं, श्यामकुमार श्रेष्ठ, आदित्यनारायण कसौधन, छाया शर्मा, कन्चचन्द्र वादे, शान्ता मानवीलगायतका सभासद्ले पेट्रोलियम पदार्थको भण्डारणमा निगम गम्भीर नभएको आरोप लगाए।
 
उनीहरूले इन्धनको मूल्य घटे पनि सार्वजनिक सवारीसाधनको भाडा नघटेको आम उपभोक्ता ठगिएको, खाद्यान्नको मूल्य वृद्धि भए पनि सरकारले नियन्त्रण गर्न नसकेको, वाणिज्य विभागको अनुगमनले बजारमा कुनै सुधार आउन नसकेको बताए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411