​एभरेष्ट बैंकले कमायो १ अर्ब ५७ करोड, अघिल्लो वर्ष भन्दा ३ करोड बढी

आईतवार, श्रावन ३१, २०७२ साल,
काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७१/०७२ मा १ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा ३ करोड रुपैयाँले मात्रै बढी हो ।

राष्ट्र बैंकले कर्जामा लिने र निक्षेपमा दिनेबीचको व्याज अन्तर (स्प्रेड दर)मा कडाई गरेपछि बैंकको खुद व्याज आम्दानी ४ करोड रुपैयाँले घटेको छ ।

व्याज आम्दानी घट्दा त्यसको असर नाफामा परेको हो । स्प्रेड दरका कारण बैंकको व्याज आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ करोड रुपैयाँले घटेर २ अर्ब ८७ करोड रुपैयाँमा झरेको आइतबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

०७१ मा ५.६९ प्रतिशत रहेको स्प्रेड दर ०७२ मा ४.७६ प्रतिशतमा झरेको छ । स्प्रेड दर ५ प्रतिशत बढी राख्न नहुने राष्ट्र बैंकको निर्देशन छ ।

संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक)ले बैंकको नाफा थोरै भएपनि बढाएको हो । अघिल्लो वर्षकोभन्दा राइटब्याक १२ करोडले बढेर २० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंकले ५० प्रतिशत नगद लाभांस र १२ प्रतिशत बोनस सेयर गरी सेयरधनीलाई ६२ प्रतिशत लाभांस दिएको थियो । यो वर्ष पनि बैंकले ६० प्रतिशतको हाराहारीमा लाभांस दिन सक्छ । 

०७२ असार मसान्तसम्ममा बैंकले ८३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७१ मा बैंकले ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जामा पनि केही सुधार आएको छ । ०७१ मा बैंकले प्रवाह गरेको कुल कर्जाको ०९७ प्रतिशत रहेको बैंकको खराब कर्जा ०७२ मा ०.६६ प्रतिशतमा खुम्चिएको छ ।

अहिले २८ सयको हाराहारीमा रहेको बैंकको प्रतिकित्ता सेयर असार मसान्तमा २१ सय २० रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ३ सय ४२ रुपैयाँ छ । बैंकिङ सिस्टमभित्र व्याजदरमा भइहरेको उतार चढाबलाई बैंकले चुनौतिकोरुपमा लिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411