​चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने, एक अर्बको नगद सहयोग

बिहीवार, श्रावन ७, २०७२ साल,
काठमाडौं । चीनले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने बताएको छ । यसका लागि एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।

भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासलगायत आपसी हित र चासोका विविध विषयमा बिहीबार सम्पन्न सचिवस्तरीय द्विपक्षीय संयुक्त वार्तामा चीनले यस्तो बताएको हो ।

भूकम्पसँगै पहिरो खस्दा क्षति भएको अरनिको राजमार्ग,त्यसैबाट प्रभावित सिन्धुपाल्चोकको लार्चामा निर्माणधीन सुक्खा बन्दरगाह, रसुवागढीस्थित भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन चीनले शीघ्र काम थाल्ने अर्थसचिव सुमनप्रसाद शर्माले बताए ।

काठमाडौं तथा सिन्धुपाल्चोकमा व्यवस्थित बस्ती विकास, पुनःनिर्माण, भूकम्पपीडितलाई अन्य भौतिक सहयोग, आठ ‘लेन’को निर्माणाधीन चक्रपथ विस्तार परियोजनाको काम द्रुत गतिमा अघि बढाउन चीन सहमत भएको छ । “नेपालको प्राथमिकतानुसार तत्काल अनुदान सहायता परियोजना कार्यान्वयन गर्न र केही परियोजनाको सम्भाव्यता अध्ययनपछि बाँकी काम चाँडोभन्दा चाँडो थाल्न पनि चीन राजी भएको छ”–वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका अर्थसचिव शर्माले भने ।

काठमाडौं र सिन्धुपाल्चोकमा परीक्षणका रुपमा बस्ती विकास र सुरक्षित आवास निर्माण आयोजना पनि अनुदान सहायताअन्तर्गत कार्यान्वयन गरिने अर्थसचिवले बताए । भूकम्प प्रभावित क्षेत्रमा विद्यालय तथा स्वास्थ्य केन्द्र पनि निर्माण गरिने छ ।

गत असार १० गते यहाँ सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा चीनले ७७ अर्ब ७० करोड अनुदान उपलब्ध गराउने घोषणा गरेअनुरुप अनुदान सहायता परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुनेछन् । एक अर्ब नगद अनुदान उपलब्ध गराउने चिनियाँ घोषणा पनि सोही सहायता रकमअन्तर्गतको हो ।

वार्तापछि विपद्पछिको पुनःनिर्माण सहयोग परियोजनाको  कार्ययोजना,एक अर्ब नगद सहयोग सम्झौता तथा भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । रासस

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411